Breaking Nepal

विराटनगर/ मुलुकमा सक्रिय पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज कोशी प्रदेशसहित देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च भूभागमा हिमपातको सम्भावना देखिएको छ।
महाशाखाले सार्वजनिक गरेको पूर्वानुमान अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
हाल देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदली देखिएको मौसमविद्हरूले बताएका छन्। गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भने बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि सामान्यदेखि पूर्ण बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।
कोशी प्रदेशमा आज राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम देखिएको छ। रातिको समयमा प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली कायम रहनेछ भने पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी प्रणाली सक्रिय रहेकाले कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा राति पनि वर्षा र हिमपातको क्रम जारी रहने सम्भावना छ। उनीहरूले मेघगर्जन, चट्याङ तथा सम्भावित हिमपातका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।