Breaking Nepal

धनकुटा / २०८२ का लागि प्रदान गरिने ‘महाभीम धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार’ विश्रान्तिधाम धनकुटालाई प्रदान गरिएको छ ।
एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार चैत्र ५ गते आयोजित समारोहबीच प्रमुख अतिथि स्वामी विजयानन्द सरस्वतीले विश्रान्तिधाम समितिका अध्यक्ष शारदाप्रसाद मिश्रलाई हस्तान्तरण गरेका हुन् ।
महाभीम स्मृति कोष द्वारा आयोजित कार्यक्रममा कोषकी अध्यक्ष इन्दिरा रिजाल को सभापतित्व रहेको थियो । कार्यक्रममा संस्थापक तथा संरक्षक प्रभु प्रसाद पराजुली, धर्म–संस्कृतिविद प्रा। कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कवि विवश पोखरेल, नेपाली लेखक संघ कोशीका अध्यक्ष गोकुल अधिकारी लगायतले धर्म, संस्कृति र सामाजिक सेवामा विश्रान्तिधामको योगदानबारे चर्चा गरे ।
यसैगरी, विश्रान्तिधाम संस्कृत गुरुकुलका प्राचार्य दिनेशप्रसाद अधिकारी तथा विश्रान्ति मन्दिर समितिका महासचिव जनार्दन घिमिरेले संस्थाले पुर्याएको शैक्षिक तथा सामाजिक योगदान उल्लेख गरे । कार्यक्रममा विभिन्न सामाजिक तथा सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
महाभीम स्मृति कोष २०७९ सालमा स्वर्गीय महादेवी पराजुली र भीम प्रसाद पराजुलीको स्मृतिमा स्थापना गरिएको संस्था हो । कोषले यसअघि जगद्गुरु मोहनशरण देवाचार्य, अरुणोदय मावि चरम्बी भोजपुर तथा श्रीकृष्ण प्रणामी मन्दिर इटहरीलाई सोही पुरस्कार प्रदान गरिसकेको छ ।