Breaking Nepal

विराटनगर / ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा सुनसरीले सशक्त पुनरागमन गर्दै मोरङलाई २१ रनले पराजित गरेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भइरहेको प्रतियोगितामा यस जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । अब उपाधि निर्धारण गर्ने निर्णायक खेल शनिबार हुनेछ।
विराटनगरस्थित मेरिलेबन ज्वाला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीले अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै ३४.४ ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र जोड्यो। सुनसरीका लागि आशिष मण्डलले सर्वाधिक २५ रन बनाए भने रोशन घिमिरे (१६), अफान ताहिर (१३) र आकाश सर्राफ (१०) ले दोहोरो अंक छोए पनि अन्य ब्याटर चल्न सकेनन्।
मोरङका बलर कृष शर्माले उत्कृष्ट बलिङ गर्दै ९.४ ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ५ विकेट लिए। उनलाई कृतिक कामतले ३ विकेट लिएर राम्रो साथ दिए भने महबुव इराकी र अमर यादवले समान १–१ विकेट हात पारे।
तर, झिनो लक्ष्य पछ्याएको मोरङको ब्याटिङ लाइनअप अपेक्षाकृत कमजोर देखियो। १०३ रनको लक्ष्य पछ्याउने क्रममा मोरङ २३.२ ओभरमै ८१ रनमा समेटियो। अटल साहले अविजित २२ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। आइन्सटाइन रिजालले १३ रन बनाउँदा बाँकी ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे।
सुनसरीका कविराज खत्री खेलका नायक बने। उनले १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चेर ५ विकेट लिए। रविन मण्डलले ३ विकेट लिएर उनलाई प्रभावकारी साथ दिए।
प्रतियोगिता ‘बेस्ट अफ थ्री’ को आधारमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ, जसअनुसार अबको अन्तिम खेलले उपाधि विजेता टुंगो लगाउनेछ।