Breaking Nepal

काठमाडौं / नेपालमा नयाँ राजनीतिक युगको सुरुवात भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले आज प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित भव्य समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। यो नेपालको संविधान २०७२ जारी भएपछि यस धारा प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरिएको पहिलो घटना हो। त्यसैगरी, मधेशी समुदायका व्यक्तिले नेपाल सरकारको नेतृत्व सम्हालेको पनि यो पहिलोपटक हो।
शाह काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका थिए। उनी पहिलो पटक संसद प्रवेश गर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन्। झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेका थिए।
नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय आफैं सम्हालेका छन्। दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री, तेस्रो वरीयतामा रहेका सुधन गुरुङ गृह मन्त्रालय, शिशिर खनाल परराष्ट्र मन्त्रालय, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ, खड्कराज पौडेल (गनेश) पर्यटन, सस्मित पोखरेल शिक्षा, विज्ञान, प्रविधि तथा युवा/खेलकुद, निशा मेहता स्वास्थ्य तथा जनसंख्या, विक्रम तिमिल्सिना सञ्चार, प्रतिभा रावल सामान्य प्रशासन, दीपक साह (महोत्तरी) श्रम रोजगार, सोविता गौतम कानून, गीता चौधरी कृषि, पशुपन्छी विकास तथा वन/पर्यावरण, र सीता वादी महिला, बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
शपथ ग्रहण समारोह विशेष धार्मिक र सांस्कृतिक विधिसहित सम्पन्न भयो। सातवटा शंखबाट शंखनाद गर्दै समारोह सुरु भएको थियो । त्यसपछि १०८ जना बटुकहरुले स्वस्ति वाचन गरे, जसको उपरान्त १०८ जना भिक्षुले मंगल पाठ गरे । समारोहमा प्रधानमन्त्री बालेनले ईश्वर, देश र जनताको नाममा शपथ लिएका थिए ।
राजनीतिक विश्लेषकका अनुसार, बालेनको प्रधानमन्त्री नियुक्ति राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेत हो। ३६ वर्षीय युवा नेताले अब राष्ट्रिय नीति, विकास र सुरक्षा क्षेत्रमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्। विशेष गरी मधेशी समुदायको प्रतिनिधित्व र स्थानीय तहदेखि संघीय नेतृत्वसम्मको पहुँचले नयाँ आशा र उत्साह पैदा गरेको छ ।
यससँगै नेपालको राजनीतिक वातावरणमा युवाप्रधान, नयाँ शैली र समावेशी नेतृत्वको युग सुरु भएको स्पष्ट देखिन्छ। बालेन सरकारले अगाडि बढाउने नीति र योजना रास्वपा र गठबन्धनका दृष्टिकोणमा ठोस प्रभाव पार्ने अपेक्षा गरिएको छ ।