ओली पक्राउविरुद्ध विराटनगरमा एमाले युवाको प्रदर्शन, गृहमन्त्रीविरुद्ध चर्का नारा

Breaking Nepal

शनिबार ,चैत्र १४ , २०८२ १८:५४

विराटनगर / पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा विराटनगरमा एमालेनिकट युवाहरू सडकमा उत्रिएका छन्।

शनिबार विराटनगरस्थित महेन्द्र चोकमा भेला भएका केही दर्जन कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले चर्का नाराबाजी गर्दै पक्राउलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएका थिए।

पार्टीका केन्द्रीय सदस्य पर्शुराम बस्नेतको नेतृत्वमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले वर्तमान सरकार कानुनी प्रक्रियाको आडमा विपक्षी नेतृत्वमाथि दमन गर्न खोजिरहेको आरोप लगाए।

प्रदर्शनकारीहरूले ओलीको अविलम्ब रिहाइको माग गर्दै अन्यथा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

यस घटनाले ओली पक्राउ प्रकरणपछि प्रदेशस्तरमा राजनीतिक तनाव बढ्दै गएको संकेत दिएको छ।