बाढीपछि खुल्यो बीपी राजमार्ग: रोशी क्षेत्रमा अस्थायी डाइभर्सनबाट दुईतर्फी यातायात सञ्चालन

Breaking Nepal

आइतबार ,चैत्र १५ , २०८२ ०८:२८

काभ्रेपलाञ्चोक / लगातार वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चैत १५ गते बिहान ६ बजेदेखि अस्थायी डाइभर्सनमार्फत दुईतर्फी यातायात सुचारु गरिएको हो।

शुक्रबार साँझ परेको वर्षाले रोशी क्षेत्रमा बनाइएको अस्थायी सडक तथा डाइभर्सन बगाउँदा राजमार्ग दुई दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। खोलाको जलस्तर घटेसँगै सम्बन्धित निकायले तत्काल डाइभर्सन पुनर्निर्माण गरी यातायात सञ्चालनमा ल्याएका हुन्।

प्रहरीले सडक सञ्चालनमा आए पनि मौसम अझै प्रतिकूल रहने सम्भावना रहेकाले सवारी चालक तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी वर्षा भइरहने अवस्थामा थप बाढी र पहिरोको जोखिम कायम रहेको चेतावनी दिइएको छ।

बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म करिब चार किलोमिटर क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बगाएको थियो। सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको समन्वयमा शनिबार बिहानैदेखि वैकल्पिक मार्ग निर्माण गरी सञ्चालन सम्भव बनाइएको हो।

गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सो क्षेत्रमा खोलामार्ग हुँदै अस्थायी सडक प्रयोगमा ल्याइएको थियो। पछिल्लो बाढीले सोही संरचना पुनः प्रभावित बनाएको हो।

यस्तै, शुक्रबारको वर्षापछि बिरुवाडाँडा, कालढुंगा, चौकीडाँडा र मंगलटार आसपासका क्षेत्रमा लेदोसहितको पहिरो झरेर सडकका विभिन्न खण्डमा क्षति पुगेको थियो। राजमार्ग अवरुद्ध हुँदा धुलिखेलतर्फको काभ्रेभन्ज्याङ, भकुण्डे तथा पूर्वी प्रवेश नाकाहरू नेपालथोक र मंगलटारमा सवारी साधन रोकिएका थिए।

सडक पूर्ण रूपमा दिगो नबन्दासम्म अस्थायी समाधानमै निर्भर रहनुपर्ने अवस्था देखिएको भन्दै सरोकारवाला निकायले दीर्घकालीन संरचना निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।