Breaking Nepal

काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने ढाँचामा यस वर्ष महत्वपूर्ण परिवर्तन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने समय घटाएर अधिकतम एक महिनाभित्र ल्याउने लक्ष्यसहित उत्तरपुस्तिका परीक्षण प्रणालीमै सुधार गर्ने निर्णय गरेको हो ।
यसअनुसार, अब परीक्षा जहाँ सञ्चालन हुन्छ, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गरिनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार छिटो नतिजा प्रकाशन सुनिश्चित गर्न विकेन्द्रीकृत मूल्याङ्कन प्रणाली अपनाउन लागिएको परीक्षा बोर्डले जनाएको छ ।
एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, “नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने स्पष्ट निर्देशन आएको छ। सोहीअनुसार परीक्षा केन्द्रमै परीक्षण केन्द्र कायम गरी मूल्याङ्कन गरिने व्यवस्था गरिएको हो ।” उनका अनुसार, आवश्यक जनशक्ति अभाव वा सुरक्षा चुनौती भएका स्थानमा भने शिक्षा विकास तथा समन्वय एकाइमार्फत वैकल्पिक केन्द्र तोकिनेछ ।
अघिल्ला वर्षहरूमा गोप्य रूपमा परीक्षण केन्द्र निर्धारण गरी एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाएर जाँच्ने प्रचलन थियो। यसले समय लम्ब्याउनुका साथै व्यवस्थापनमा जटिलता थप्ने गरेको थियो। नयाँ प्रणालीले समय बचतसँगै खर्च घटाउने र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।
यसअघि एसईईको नतिजा असार दोस्रो सातातिर मात्र सार्वजनिक हुने गरेको थियो । ढिलाइका कारण विद्यार्थीमा मानसिक तनाव बढ्नुका साथै ‘ब्रिज कोर्स’ जस्ता अनावश्यक गतिविधि बढेको गुनासो आउने गरेको थियो। मन्त्रालयले यस्ता कार्यक्रमहरू नियन्त्रण गर्ने निर्णयसमेत गरिसकेको छ ।
यसैबीच, चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ । मूलतः शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो सातामा परीक्षा हुने भए पनि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण परीक्षा मिति पछि सारिएको हो ।
बोर्डका अनुसार देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन्, जसमा एक केन्द्र जापानमा समेत रहेको छ । यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्, जसमा छात्राको संख्या छात्रभन्दा केही बढी रहेको छ ।
प्रश्नपत्र, उत्तरपुस्तिका, जनशक्ति परिचालन तथा सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भइसकेको जनाइएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
शिक्षा मन्त्रालय र परीक्षा बोर्डले एसईईलाई शान्त, व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षसँग सहयोगको अपिल गरेका छन् । नयाँ मूल्याङ्कन प्रणाली र छिटो नतिजा प्रकाशनले विद्यार्थी, अभिभावक र शिक्षण संस्थामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।