Breaking Nepal

विराटनगर / पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता विराट गोल्डकपको यस संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
चैत २८ देखि वैशाख ५ गतेसम्म विराटनगरस्थित सहिद मैदानमा सञ्चालन हुने प्रतियोगितामा यसपटक पहिलोपटक मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबले सहभागिता जनाउने भएको छ । यसअघि आयोजकले आफैं टोली बनाउँदै आएको परम्परा तोड्दै व्यावसायिक तथा प्रतिस्पर्धी क्लबलाई प्राथमिकता दिइएको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार यस संस्करणमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडदेखि भारतको झारखण्डस्थित विर्षा मुन्डा फुटबल एकेडेमीसम्मको सहभागिता रहनेछ, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ सहित विभिन्न चार विधामा व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिनेछ ।
ट्रष्टका महासचिव विनेश बस्नेतले रंगशाला व्यवस्थापन, ब्यानर, होर्डिङ बोर्ड तथा गेट निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। तर फ्लड लाइट सञ्चालनका लागि प्रयोग हुने जेनेरेटर बिग्रिएकोले मर्मतमा अतिरिक्त खर्च आवश्यक परेको उनले बताए । हाल प्रदेश खेलकुद विकास बोर्डअन्तर्गत रहेको जेनेरेटर मर्मतका लागि करिब ७० हजार रुपैयाँ खर्च हुने अनुमान छ भने फ्लड लाइट प्रयोग गर्दा दैनिक ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे ।
प्रतिस्पर्धी टोलीहरूको रोचक उपस्थिति
यस संस्करणमा झापा–११, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ एफसी, मच्छिन्द्र फुटबल क्लबजस्ता अनुभवी टोली सहभागी हुनेछन् । झापा–११ विगतको विजेता टोली हो भने चर्च ब्वाइज साविक उपविजेता हो । विभागीय टोलीहरू आर्मी, पुलिस र एपीएफ उपाधि दावेदारका रूपमा रहनेछन् ।
मच्छिन्द्र फुटबल क्लबले पछिल्लो संस्करणमा उपाधि जित्दै आफ्नो उपस्थिति बलियो बनाएको छ । त्यस्तै भारतको अल झारखण्ड विर्षा मुन्डा फुटबल एकेडेमीले पहिलोपटक सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय रंग थप्नेछ ।
सम्राट स्पोर्टिङमा विशेष चासो
यसपटकको सबैभन्दा आकर्षक पक्ष भनेको स्थानीय क्लब सम्राट स्पोर्टिङको सहभागिता हो । २०५४ सालमा स्थापित क्लब पछिल्लो आठ संस्करणदेखि जिल्ला लिग च्याम्पियन रहँदै आएको छ । कप्तान कोमल खवासको नेतृत्वमा मैदान उत्रिने टोलीले घरेलु समर्थकको साथमा उपाधि दाबेदारी प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।
स्थानीय क्लबको सहभागिताले प्रतियोगितालाई थप जीवन्त बनाउने विश्वास आयोजकको छ । व्यावसायिक क्लबहरूसँग प्रतिस्पर्धा गर्दै सम्राटले कस्तो प्रदर्शन गर्छ भन्ने विषयमा फुटबलप्रेमीहरूमा विशेष चासो देखिएको छ ।