Breaking Nepal

विराटनगर / घरेलु टोली सम्राट स्पोर्टिङ क्लबले उत्कृष्ट पुनरागमन प्रदर्शन गर्दै ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा भारत, झारखण्डस्थित विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सम्राट अन्तिम चारमा प्रवेश गरेको हो ।
पहिलो हाफमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै सम्राटले प्रभावशाली जित निकालेको हो । अब उसले फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । ४४ औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा सम्राटले खेलको लय पूर्ण रूपमा आफ्नो पक्षमा पार्दै उत्कृष्ट कमब्याक गर्यो ।
५० औँ मिनेटमा सौरव तामाङको सटीक क्रसलाई मौसम लिम्बुले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ८६ औँ मिनेटमा प्रताप तामाङले निर्णायक गोल गर्दै सम्राटलाई २–१ को अग्रता दिलाए । इन्जुरी समयमा पुनः प्रतापले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँबाट पुरस्कृत भए ।
जित हात पारे पनि सम्राटले आधा दर्जनभन्दा बढी स्पष्ट अवसर खेर फालेको थियो । सौरव तामाङ, अशोक खवास र कोमल खवासका प्रहार लक्ष्यभित्र नपुगेका कारण गोल अन्तर अझ फराकिलो हुन सकेन । उता, विर्सामुण्डाका गोलकिपर मनोज मन्डाइले केही उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराख्ने प्रयास गरेका थिए ।
विर्सामुण्डाका लागि शिव शंकर किस्कुले एक गोल फर्काए पनि अन्य अवसर सदुपयोग गर्न नसक्दा टोली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो ।
प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ आमनेसामने हुनेछन्, जसले उपाधि दौडलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।