इरानी नियन्त्रणमा परेका नेपाली युवा अमृत झा रिहा, कूटनीतिक पहल सफल

Breaking Nepal

बुधबार ,बैशाख २ , २०८३ २२:५१

काठमाडौं / इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झालाई बुधबार बेलुकातिर इरानले रिहा गरेको हो।

खनालले झा सुरक्षित अवस्थामा रहेको र हाल नेपाली पक्षको सम्पर्कमा रहेको जानकारी दिए। “उहाँ अहिले हाम्रो सम्पर्कमै हुनुहुन्छ,” उनले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै भने, “कतारस्थित नेपाली दूतावासको टोलीले पनि उहाँसँग निरन्तर समन्वय गरिरहेको छ।”

दुबईस्थित एक पानीजहाज कम्पनीमा कार्यरत झालाई केही समयअघि इरानी सेनाले नियन्त्रणमा लिएको थियो। घटनापछि नेपाल सरकारले कूटनीतिक माध्यमबाट निरन्तर पहल गर्दै आएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार सम्बन्धित देशहरूसँगको समन्वय र सक्रिय कूटनीतिक प्रयासका कारण झाको रिहाइ सम्भव भएको हो। अहिले उनलाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।