Breaking Nepal

विराटनगर / घरेलु टोली सम्राट स्पोर्टिङ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै ३८औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ। बिहीबार सहिद मैदानमा सम्पन्न अन्तिम सेमिफाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राट उपाधिनजिक पुगेको हो।
डेब्यू सहभागितामै प्रभावशाली प्रदर्शन गरेको सम्राटले अब शनिबार हुने फाइनलमा झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ। रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताको उपाधि भिडन्त पनि शनिबार राति नै हुनेछ।
सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले समान एक–एक गोल गरे। खेलको ‘प्लेयर अफ द म्याच’ सौरभ तामाङ घोषित हुँदै नगद ११ हजार रुपैयाँ प्राप्त गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सम्राटले केही महत्वपूर्ण अवसर गुमाएको थियो। २९औँ मिनेटमा आदित्य शाक्यको प्रहार बारभन्दा माथि गएको थियो भने ३२औँ मिनेटमा आशिष चौधरीको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्किएको थियो।
दोस्रो हाफमा भने सम्राटले खेलमा स्पष्ट नियन्त्रण जमायो। ५०औँ मिनेटमा सौरभ तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समय निर्णायक बन्यो। थपिएको समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै अग्रता दोब्बर बनाए भने छैटौँ मिनेटमा विवेक राईले अर्को गोल थप्दै जित सुनिश्चित गरे।
गोल खाएपछि दबाबमा परेको चर्च ब्वाइजले केही अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर रह्यो। समीर तामाङ र सृजन गौतमले पाएका अवसर सदुपयोग गर्न नसक्दा टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। उता झापा–११ ले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।