बढ्दो गर्मीसँगै ‘लु’ को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी सुदृढ गर्न तीनदिने गोष्ठी सुरु

Breaking Nepal

मंगलबार ,बैशाख ८ , २०८३ १७:५९

विराटनगर / बढ्दो तापक्रमसँगै तराई क्षेत्रमा ‘लु’ (तातो हावा) को जोखिम तीव्र बन्दै गएको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी मोरङले पूर्वतयारी, सचेतना र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न लक्षित तीनदिने गोष्ठी मंगलबारदेखि विराटनगरमा सुरु गरेको छ ।

गोष्ठीको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जलवायु परिवर्तनका कारण गर्मीको चरम अवस्था बढ्दै गएको उल्लेख गर्दै ‘लु’ बाट जोगिन व्यवहारिक उपायहरू तत्कालै अपनाउनुपर्नेमा जोड दिए । ‘अब लु मौसमी समस्या मात्र रहेन, यो सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बनेको छ,’ उनले भने, ‘पर्याप्त पानी पिउने, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कने, हल्का र सूती कपडा लगाउने तथा संवेदनशील समूह बालबालिका, ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्छ ।’

नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुकदेव मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय बलियो बनाउँदै पूर्वतयारीलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

मण्डलले लुका कारण हिट स्ट्रोक, डिहाइड्रेसन, रक्तचाप असन्तुलन जस्ता समस्या बढ्ने भएकाले समयमै सचेतना फैलाउन रेडक्रसले प्राथमिकता दिएको बताए । ‘संकट आउनुअघि समुदाय तयार हुनु नै हाम्रो लक्ष्य हो,’ उनले भने ।

कार्यक्रममा रेडक्रसका मन्त्री सुरेन्द्र गिरी, कोषाध्यक्ष केदारबहादुर थापा, कोशी प्रदेशका किरण सेडाईं र मोरङका संजय कामतले लुजन्य जोखिम न्यूनीकरणका विविध आयामबारे धारणा राख्दै स्थानीयस्तरमै जोखिम नक्साङ्कन, आपतकालीन प्रतिक्रिया योजना र स्वयंसेवक परिचालनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

रेडक्रसका कार्यक्रम अधिकृत तेजबहादुर श्रेष्ठका अनुसार गोष्ठीमा ‘लु’ बाट प्रभावितलाई नगद तथा भौचरमार्फत सहयोग, पूर्वानुमानमा आधारित सूचना प्रवाह, लैंगिकतामा आधारित हिंसा न्यूनीकरण, सुरक्षित पानी र सरसफाइ, तथा आपतकालीन स्वास्थ्य सेवाको पहुँच विस्तारजस्ता विषयमा गहन छलफल हुनेछ ।

हालैका वर्षहरूमा तापक्रमको असामान्य वृद्धि, सहरीकरण र हरियालीको कमीका कारण ‘हिट आइल्यान्ड इफेक्ट’ बढेको उल्लेख गर्दै यसले ‘लु’ को प्रभाव अझै घातक बनाएको श्रेष्ठले औंल्याए । उनका अनुसार लु लाग्दा चक्कर लाग्ने, अत्यधिक पसिना आउने वा अचानक पसिना रोकिने, टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन् । समयमै उपचार नपाए हिट स्ट्रोकले ज्यानै जान सक्ने जोखिम हुन्छ ।