Breaking Nepal

विराटनगर / नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनर्गठनका लागि युवा सहभागिता, डिजिटल रूपान्तरण र सुशासनलाई केन्द्रमा राख्दै व्यापक ‘रिसेट’ आवश्यक रहेको बताएका छन् ।
मोरङ कांग्रेसको व्यवस्थापन र कोशी प्रदेश समितिको समन्वयमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले बिुधबार वराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा बोल्दै उनले पछिल्लो निर्वाचन परिणामलाई ‘सिर्जनात्मक झट्का’ का रूपमा लिएर संगठनात्मक रूपान्तरणतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।
‘करिब १० लाख मत घट्नु सामान्य उतारचढाव होइन, बरु पार्टीको सन्देश, संरचना र जनसम्पर्क कमजोर भएको संकेत हो । हारले डराउने होइन, कारण चिर्ने हो,’ सभापति थापाले भने, ‘कहिलेकाहीँ अगाडि फड्को मार्न दुई कदम पछाडि सर्नुपर्छ ।’ उनले कांग्रेसले आफ्ना ऐतिहासिक उपलब्धि, सुशासनका प्रयास र विकासमा खेलेको भूमिकालाई नयाँ पुस्तासम्म प्रभावकारी ढंगले पुर्याउन नसकेको स्वीकार गरे । यही कमजोरीका कारण युवापुस्तामा दूरी बढेको उनको निष्कर्ष थियो ।
उनले पार्टीलाई ‘डिजिटल आइडेन्टिटी’ मा रूपान्तरण गर्ने योजना अघि सार्दै सदस्यता प्रणालीलाई पूर्ण रूपमा अद्यावधिक र प्रविधिमैत्री बनाइने बताए । ‘८ लाख सदस्य भएको पार्टीमा आधारभूत विवरण नै अद्यावधिक छैन भने संगठन कसरी चुस्त हुन्छ ?’ उनले प्रश्न गरे । उनका अनुसार अब सदस्यता नवीकरणदेखि अभिलेखीकरणसम्म सबै प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ, जसले पारदर्शिता र उत्तरदायित्व दुवै बढाउनेछ ।
पार्टीभित्र र सरकारमा देखिएका कमजोरीप्रति संकेत गर्दै थापाले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा कठोरता देखाउनुपर्नेमा जोड दिए । ‘जनताको भरोसा भाषणले होइन, कामले जितिन्छ,’ उनले भने, ‘स्थानीय र प्रदेश सरकारको प्रदर्शनले नै आगामी निर्वाचनको आधार तय गर्छ ।’ उनले सत्ता सहकार्यका क्रममा कांग्रेसको पहिचान धुमिल भएको उल्लेख गर्दै आगामी दिनमा स्पष्ट वैचारिक र राजनीतिक ‘ब्रान्डिङ’ आवश्यक रहेको बताए ।
थापाले आगामी १५औँ महाधिवेशनलाई संगठन पुनर्गठनको निर्णायक अवसरका रूपमा उपयोग गर्ने बताउँदै चार पुस्तालाई एउटै संरचनामा समेट्ने रणनीति अघि बढाइने स्पष्ट पारे । ‘अनुभव, ऊर्जा र प्रविधि—यी तीनैको संयोजनले मात्र कांग्रेसलाई फेरि पहिलो शक्ति बनाउँछ,’ उनले भने ।
कार्यक्रममा उपसभापति पुष्पा भुसालले पराजयलाई निराशाको कारण होइन, सुधारको सुरुवातका रूपमा लिन आग्रह गरिन् । उनले संगठनको जरा अझै जनस्तरमै बलियो रहेको दाबी गर्दै समन्वय र सक्रियता बढाउनुपर्ने बताइन् । महामन्त्री प्रदीप पौडेलले तल्लो तहका कार्यकर्तालाई घरदैलोमा पुगेर पार्टीका नीति र कार्यक्रम स्पष्ट पार्न आग्रह गरे भने अर्का महामन्त्री गुरुराज घिमिरेले वडादेखि केन्द्रसम्म संरचनागत सुधार अपरिहार्य रहेको औंल्याए ।
सहमहामन्त्री डा. डिला संग्रौलाले युवालाई अवसर र जिम्मेवारी नदिएसम्म संगठन सशक्त नहुने बताउँदै नीति निर्माणदेखि नेतृत्व तहसम्म समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखिन् ।
अर्का सहमहामन्त्री उदय शम्शेर राणाले कांग्रेसले अहिलेको जस्ता धेरै निर्वाचनमा भाग लिँदै आएकोले एकपटकको पराजयबाट आत्तिनु पर्ने अवस्था नरहेको बताए । उनले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी वडा तहदेखि नै सबै एकढिक्का भएर संगठन निर्मामा लाग्नुपर्नेमा जोड दिए ।
नेता डा. मीनेन्द्र रिजालले वैचारिक स्पष्टता र विश्वसनीयता पुनःस्थापना नगरेसम्म मतदाता फर्काउन कठिन हुने चेतावनी दिए । ‘विश्वास पुनःनिर्माण नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने ।
कोशी प्रदेशका सभापति उद्धव थापाले प्रदेशस्तरमा भएका सकारात्मक कामको प्रभावकारी संप्रेषण हुन नसक्दा राजनीतिक लाभ लिन नसकिएको स्वीकार गरे । उपसभापति रमेशजंग रायमाझीले संगठनभित्र समन्वय अभाव र निष्क्रियताले परिणाममा असर पारेको उल्लेख गरे ।
महामन्त्री भूपेन्द्र राईले प्रविधिमैत्री संगठन निर्माणमार्फत युवालाई जोड्ने अभियान तीव्र बनाइने बताए भने मोरङ सभापति डिगबहादुर लिम्बूले स्थानीयस्तरमा प्रत्यक्ष जनसम्पर्क विस्तार नगरेसम्म मतदाताको भरोसा फर्काउन कठिन हुने धारणा राखे ।
नेताहरूले समीक्षा क्रममा सामाजिक सञ्जालको बढ्दो प्रभाव, नयाँ राजनीतिक शक्तिप्रति युवाको आकर्षण, वैदेशिक रोजगारीमा रहेका मतदाताको बदलिँदो व्यवहार तथा परम्परागत प्रचार शैलीको सीमिततालाई पराजयका मुख्य कारणका रूपमा औंल्याए । विशेषगरी ‘डिजिटल स्पेस’ मा प्रभावकारी उपस्थिति नहुनु र सकारात्मक कामको कथालाई जनतासम्म पुर्याउन नसक्नु कमजोरीका रूपमा स्वीकार गरियो ।