कोशी प्रदेशका केही भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्य प्रदेशमा आजको मौसम कस्तो रहला ?

Breaking Nepal

शुक्रबार ,बैशाख ११ , २०८३ ०७:१३

विराटनगर / जल तथा मौसम विज्ञान विभाग ले आज (वैशाख ९) देशका अधिकांश भूभागमा तापक्रम उच्च रहने र तराई–खोँच क्षेत्रमा ‘तातो दिन’को अवस्था कायम रहने प्रक्षेपण गरेको छ। विशेषगरी कोशी प्रदेशसहित तराई भूभागमा गर्मीको प्रभाव बढ्ने देखिएको छ।

विभागका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसको असर स्वरूप हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ, जसले तापक्रम वृद्धि थप तीव्र बनाउनेछ।

दिउँसो कोशी प्रदेशका तराई र खोँच क्षेत्रमा तातो दिनको प्रभाव देखिने सम्भावना रहेको छ। यद्यपि, कोशीका हिमाली तथा पहाडी भूभागमा भने आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना औंल्याइएको छ। यसले स्थानीयस्तरमा मौसममा आंशिक राहत दिने अनुमान गरिएको छ।

यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा पनि तातो दिनको अवस्था रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो हावाको लहरसमेत चल्ने सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ।

मौसमविद्हरूले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, कृषिजन्य गतिविधि र दैनिक जनजीवनमा तापक्रम वृद्धिले पार्ने प्रभावलाई ध्यानमा राख्न पनि सुझाव दिइएको छ।