विराटनगरमा ‘लिडरशिप ल्याब २०२६’ : युवा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सम्पन्न (तस्बिरसहित)

Breaking Nepal

आइतबार ,बैशाख १३ , २०८३ १४:३०

विराटनगर / युवा नेतृत्व विकास, टोली निर्माण र प्रभावकारी सञ्चार सीप अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित ‘लिडरशिप ल्याब २०२६’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । एकदिने उक्त प्रशिक्षण कार्यक्रम वि.सं. २०८३ वैशाख १२ गते मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजना गरिएको थियो ।

लायन्स क्लब अफ विराटनगर सेन्ट्रल अन्तर्गत लियो क्लब अफ विराटनगर सेन्ट्रल, सेन्ट्रल मेघा तथा सेन्ट्रल सताब्दीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा करिब ५० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन इन्द्र खत्री (राजन), पीएमजेएफ सेकेन्ड सेन्चुरी एम्बेसडरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथि वक्ताका रूपमा प्रा. डा. सन्देश दास श्रेष्ठले नेतृत्व विकासका समसामयिक आयामबारे प्रेरणादायी मन्तव्य राख्नुभएको थियो । प्रमुख प्रशिक्षक लायन सन्दीप दास श्रेष्ठ तथा प्रशिक्षक लियो लायन शंकर मण्डलले सहभागीहरूलाई नेतृत्व विकास, टोली निर्माण, प्रभावकारी सञ्चार र व्यक्तिगत क्षमताको अभिवृद्धिसम्बन्धी विषयमा अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रशिक्षणका क्रममा व्यवहारिक अभ्यास, समूहगत छलफल तथा अनुभव आदानप्रदानमार्फत सहभागीहरूलाई नेतृत्व क्षमतामा सुदृढीकरण गर्न सहजीकरण गरिएको थियो । सहभागीहरूको सक्रिय सहभागिता र उत्साहले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ ।

कार्यक्रमको समन्वय लियो पवन काफ्ले, अध्यक्ष, लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले गर्नुभएको थियो । उहाँको नेतृत्वमा कार्यक्रम व्यवस्थित र लक्ष्यअनुरूप सञ्चालन भएको आयोजकको भनाइ छ ।

यस्ता कार्यक्रमले युवा पुस्तामा नेतृत्व क्षमता विकास गर्दै सामाजिक सेवाप्रति अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्दै आयोजकले आगामी दिनमा समेत यस्ता तालिमलाई निरन्तरता दिने जनाएको छ ।