Breaking Nepal

काठमाडौं / अष्ट्रियाको इन्स्ब्रक, साल्सब्रुकलगायत युरोपका विभिन्न ठाउँमा रहेका नेपाली खेलाडीहरूको सक्रिय सहभागितामा आयोजित वार्षिक ग्रिल कार्यक्रम उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपाल–युरोप खेलकुदसँग आबद्ध नयाँ तथा स्थापित खेलाडीहरू र हाइपो बैंकसँग सम्बद्ध खेलाडीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाली खेलाडीहरूबीच आपसी समन्वय, सहकार्य र एकता अभिवृद्धि गर्नुका साथै खेलकुद क्षेत्रको प्रवर्द्धन गर्नु रहेको थियो । सो अवसरमा संस्थालाई निरन्तर साथ र सहयोग पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको समाजसेवीसमेत रहेका नेपाली युरोपियन खेलकुद संघका अध्यक्ष दिलकुमार घमालले बताए । कार्यक्रममा अध्यक्ष घमालसहित समाजसेवी सोमत घमाल, संघका सल्लाहकार विकास कार्कीलगायतले खादा लगाइदिएर सम्मान गरेका थिए ।
कार्यक्रममा विदेशमा रहेका नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि, अवसर विस्तार तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक बनाउने विषयमा छलफल गरिएको जनाइएको छ । साथै, सांस्कृतिक प्रस्तुति, नृत्य तथा गायनमार्फत सहभागीहरूले मनोरञ्जनसमेत लिएका थिए ।
सहभागीहरूले कार्यक्रमलाई केवल औपचारिक भेटघाटमा सीमित नभई आपसी आत्मीयता सुदृढ गर्ने अवसरका रूपमा लिएका थिए । खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक स्फूर्ति र सामाजिक सम्बन्ध विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको धारणा थियो ।
कार्यक्रमले डिजिटल युगमा बढ्दो एक्लोपनलाई चिर्दै प्रत्यक्ष भेटघाट र संवादको महत्त्वलाई पुनः स्मरण गराएको अध्यक्ष घमालको भनाइ छ । यस्ता भेटघाटले नयाँ सम्बन्ध स्थापना गर्न र भविष्यका लागि सहकार्यका आधारहरू निर्माण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ । संघले विगतदेखि नै यस्ता कार्यक्रम गर्दै आएको छ ।