लिपुलेक मार्ग ‘पुरानै’ भएको भारतको दाबी, नेपालसँग संवादमार्फत समाधान चाहेको उल्लेख

Breaking Nepal

सोमबार ,बैशाख २१ , २०८३ ०८:२२

काठमाडौं / लिपुलेक नाकामार्फत हुने कैलाश मानसरोवर यात्रालाई लिएर उत्पन्न कूटनीतिक तनावबीच भारतले उक्त मार्ग नयाँ नभई दशकौँदेखि प्रयोगमा रहेको ‘पुरानो र स्थापित’ बाटो भएको दाबी गरेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रतिक्रिया दिँदै लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर सञ्चालनमा रहेको उल्लेख गरे। उनका अनुसार यो मार्ग ऐतिहासिक रूपमा स्थापित भएकाले हालको निर्णयलाई नयाँ पहलका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने धारणा भारतको छ।

नेपाल सरकारले भारत र चीनबीचको सहमतिअनुसार लिपुलेक हुँदै मानसरोवर यात्रा खुला गरिएको विषयमा आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएपछि भारतले छोटो समयमै आफ्नो धारणा सार्वजनिक गरेको हो।

भारतीय पक्षले नेपालले उठाएका केही भू–भागसम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने दाबी गर्दै त्यस्ता एकतर्फी अडान अस्वीकार्य रहेको पनि स्पष्ट पारेको छ। यद्यपि, सीमासम्बन्धी विवादलगायत द्विपक्षीय मुद्दाहरू समाधानका लागि कूटनीतिक संवादलाई नै प्राथमिकता दिने प्रतिबद्धता भारतले दोहोर्‍याएको छ।

उता, नेपालले भने आफ्नो भू–भागमाथि असर पर्ने कुनै पनि सहमति वा गतिविधि अस्वीकार्य हुने स्पष्ट पार्दै दुवै छिमेकी देशलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ।

दुवै देशका पछिल्ला अभिव्यक्तिले सीमा विवाद संवेदनशील मोडमा पुगेको संकेत गरे पनि समाधानका लागि कूटनीतिक संवादकै बाटो खुला रहेको देखिन्छ।