Breaking Nepal

विराटनगर / पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ११ः४० बजे भएको दुर्घटनामा धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ निवासी २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ । प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने प्रयास गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना—सुन्दरहरैँचा–७ का १९ वर्षीय आषिक विक र १८ वर्षीय हरिबहादुर विक—घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रक र चालक सुनसरीको दुहबी नगरपालिका–८ का २३ वर्षीय रोकश खड्कालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।