Breaking Nepal

काठमाडौं / साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा तीव्र करेक्सन देखिएको छ । अघिल्लो दिन उत्साहजनक बढोत्तरी देखाएको बजार मंगलबार भने उच्च अंकले ओरालो लाग्दै लगानीकर्तालाई दबाबमा पारेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३९.४४ अंकले घटेर २ हजार ७४४.४० विन्दुमा झरेको छ । यो १.४१ प्रतिशतको गिरावट हो । सोमबार भने नेप्से ३८.१९ अंकले बढेर २ हजार ७८३.८५ विन्दुमा पुगेको थियो ।
बजार घटेसँगै कारोबार रकम पनि मध्यम स्तरमै सीमित बनेको छ । मंगलबार ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर ६२ हजार ५१२ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । आज केवल १३ कम्पनीको सेयर मूल्य बढ्दा २५१ कम्पनी राताम्मे भएका छन् भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । यसले बजारमा बिक्री दबाब हाबी भएको संकेत गरेको छ ।
मंगलबार सर्वाधिक कमाउने कम्पनीमा धौलागिरी लघुवित्त वित्तीय संस्था रह्यो । कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको हो । त्यस्तै, एसबीएल डिबेञ्चर २०८९ मा १०.७५ प्रतिशत, एनआईएमबीएल समृद्धि फण्ड–२ मा ७ प्रतिशत, एनआईसी एशिया डिबेञ्चर २०९१ र नेपाल एसबीआई बैंक डिबेञ्चर २०९० मा समान ७ प्रतिशतको वृद्धि देखिएको छ ।
यता, बजारमा सर्वाधिक गुमाउने कम्पनीको सूचीमा फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त तथा होटल फरेस्ट परेका छन् ।
उपसमूहतर्फ म्युचुअल फण्ड बाहेक सबै समूहमा गिरावट आएको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, होटल तथा पर्यटन, लघुवित्त र लगानी समूहमा उल्लेख्य दबाब देखिएको छ । बजार विश्लेषकहरूका अनुसार अघिल्लो दिनको तीव्र वृद्धिपछि लगानीकर्ताले नाफा बुक गर्दा बजारमा करेक्सन आएको हो ।