प्रधानमन्त्री अनुपस्थित भएपछि संसद् अवरुद्ध, विपक्षीद्वारा राजीनामाको माग

Breaking Nepal

बुधबार ,बैशाख ३० , २०८३ १४:२७

काठमाडौं / आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुनुअघि नै प्रतिनिधिसभा बैठक तनावग्रस्त बनेको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित नभएपछि विपक्षी दलका सांसदहरूले संसद्मा तीव्र विरोध जनाउँदै राजीनामासमेत माग गरेका छन् ।

आजदेखि नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने कार्यसूची तय गरिएको थियो । तर प्रधानमन्त्रीले दिने भनिएको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने तयारी भएपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक अभ्यास विपरीत उनी अनुपस्थित भएको आरोप लगाउँदै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका थिए । उनीहरूले “प्रधानमन्त्री कहाँ छन् ?” भन्दै नाराबाजीसमेत गरेका थिए ।

विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रम सरकारको सामूहिक प्रतिबद्धतासँग जोडिएको विषय भएकाले त्यसबारे उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेका छन् । प्रधानमन्त्रीको अनुपस्थितिलाई संसद्को अवमूल्यन र गैरजिम्मेवार व्यवहारका रूपमा व्याख्या गर्दै उनीहरूले तत्काल स्पष्टिकरणसहित राजीनामाको माग अघि सारेका हुन् ।

बैठकमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएपछि सभामुखले दलहरूबीच सहमतिको प्रयास गरिरहेका छन् । संसद् सञ्चालन र नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउने विषयमा शीर्ष तहमा आन्तरिक परामर्श जारी रहेको जनाइएको छ ।