रास्वपाको पहिलो महाधिवेशन चितवनमा, असार ७–९ मा नयाँ नेतृत्व र रणनीतिमाथि बहस

Breaking Nepal

बुधबार ,बैशाख ३० , २०८३ १४:३९

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति टुंग्याएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गणेश पराजुली ले तीनदिने महाधिवेशनमार्फत पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार र नेतृत्व संरचनाबारे व्यापक छलफल हुने जानकारी दिए।

यसअघि सभापति रवि लामिछाने ले असार ६, ७ र ८ गते महाधिवेशन आयोजना गर्ने प्रस्ताव राखेका थिए। तर केन्द्रीय समितिले एक दिन पछाडि सार्दै असार ७, ८ र ९ गतेको कार्यतालिका अनुमोदन गरेको हो।

२०७९ सालमा स्थापना भएको रास्वपाले प्रतिनिधिसभा निर्वाचनपछि छ महिनाभित्र महाधिवेशन गर्ने प्रारम्भिक नीति लिएको थियो। यद्यपि संगठन विस्तार, सदस्यता व्यवस्थापन र आन्तरिक तयारीका कारण कार्यतालिका केही पर धकेलिएको थियो। अब भने पार्टीले भदौसम्म पर्खिने योजना त्याग्दै असारमै महाधिवेशन सम्पन्न गर्ने गरी तयारी तीव्र बनाएको जनाएको छ।

महाधिवेशनलाई रास्वपाले आफ्नो संगठनात्मक पुनर्संरचना, आगामी राजनीतिक रणनीति तथा वैकल्पिक शक्तिको रूपमा पार्टीलाई थप संस्थागत बनाउने अवसरका रूपमा लिएको छ। चितवनमा हुने उक्त भेलामा देशभरबाट प्रतिनिधि, नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।