Breaking Nepal

विराटनगर / मोरङको नेसेलुङ पार्कमा लोपोन्मुख घुमन्ते आदिवासी समुदाय राउटेको संस्कृति, जीवनशैली र परम्परालाई केन्द्रमा राख्दै “एक घुमन्ते सभ्यता : राउटे जाति विशेष मेला” आयोजना गरिएको छ । याक्थुङ भिलेज प्रालि (उल्टोघर) ले सुरु गरेको उक्त मेलाले नेपालको मौलिक घुमन्ते सभ्यताको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणलाई मुख्य उद्देश्य बनाएको जनाएको छ ।
नेपालका अत्यन्तै कम जनसंख्या भएका तथा जंगलमा आधारित परम्परागत जीवनशैली अपनाउँदै आएका राउटे समुदाय पछिल्लो समय आधुनिकता, बसाइँसराइ, वनक्षेत्रको संकुचन र राज्यको पहुँच विस्तारका कारण अस्तित्व संकटमा पर्दै गएको सन्दर्भमा यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । मेलामार्फत राउटे समुदायको परम्परागत सीप, हस्तकला, काठका सामग्री निर्माण, पोसाक, खानपान तथा सांस्कृतिक अभ्यासलाई नजिकबाट बुझ्ने अवसर सिर्जना गरिएको जनाइएको छ ।
मेलासँगै सार्वजनिक गरिएको आचारसंहितामा राउटे समुदायलाई “मनोरञ्जनको सामग्री” वा “प्रदर्शनीका पात्र” का रूपमा व्यवहार नगर्न विशेष आग्रह गरिएको छ । आयोजकले आगन्तुक, सञ्चारकर्मी तथा स्वयंसेवकलाई राउटे समुदायको आत्मसम्मान, व्यक्तिगत स्वतन्त्रता र सांस्कृतिक संवेदनशीलताको पूर्ण सम्मान गर्न निर्देशन दिएको छ ।
आचारसंहिताअनुसार फोटो वा भिडियो खिच्नुअघि अनुमति लिनुपर्ने, बालबालिकाको तस्बिर प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने तथा उनीहरूको अस्थायी बसोबास क्षेत्रमा जबर्जस्ती प्रवेश गर्न नपाइने व्यवस्था गरिएको छ । साथै राउटे समुदायसँग संवाद गर्दा अपमानजनक भाषा प्रयोग नगर्न र उनीहरूको दैनिक गतिविधिलाई अनावश्यक रूपमा अवरोध नगर्न पनि आग्रह गरिएको छ ।
यद्यपि मेलालाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । एकथरीले लोपोन्मुख समुदायको संस्कृति जोगाउन तथा नयाँ पुस्तालाई नेपालको मौलिक सभ्यताबारे जानकारी दिन यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन् । अर्कोतर्फ केहीले मानव समुदायलाई “प्रदर्शन” को माध्यम बनाइनु नैतिक रूपमा असहज र मानवीय दृष्टिले अनुचित हुन सक्ने टिप्पणी गरेका छन् ।
सांस्कृतिक अध्येताहरूले भने राउटे समुदायलाई केवल कौतुहलको विषयका रूपमा नभई नेपालको जीवित सांस्कृतिक सम्पदाका रूपमा बुझ्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार संरक्षणको नाममा गरिने गतिविधि समुदायको सम्मान, अधिकार र स्वायत्ततासँग जोडिनुपर्छ ।
आयोजकले पनि मेलाको मूल उद्देश्य मनोरञ्जन नभई चेतना अभिवृद्धि र सांस्कृतिक संरक्षण रहेको स्पष्ट पारेको छ । “राउटे समुदाय हाम्रो मौलिक पहिचान र सांस्कृतिक सम्पदा हुन् । उनीहरूलाई हेर्ने दृष्टिकोण सम्मानजनक र संवेदनशील हुनुपर्छ,” आयोजकको भनाइ छ ।