बसाइँसराई रोक्ने योजनासहित कोशी प्रदेश सरकारले जेठ ७ गते प्रदेशको नीति तथा कार्यक्रम ल्याउने

Breaking Nepal

मंगलबार ,जेष्ठ ५ , २०८३ ०८:२०

विराटनगर / कोशी प्रदेश सरकार ले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममार्फत लागूऔषध नियन्त्रण, पहाडबाट भइरहेको तीव्र बसाइँसराइ न्यूनीकरण र स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्ने भएको छ ।

सरकारले यही जेठ ७ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता तथा इन्द्रमणि पराजुली का अनुसार जेठ ६ गते प्रदेशसभाको बैठक आह्वान गरिएको छ भने त्यसको भोलिपल्ट नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ ।

प्रदेश सरकारले यसपटक सामाजिक समस्या समाधानसँगै दीर्घकालीन विकास रणनीतिलाई केन्द्रमा राख्दै केही नयाँ र प्रत्यक्ष जनजीवनसँग जोडिएका कार्यक्रम अघि सार्न लागेको जनाएको छ । त्यसअन्तर्गत हालसम्म निजी क्षेत्रको भरमा सञ्चालन हुँदै आएका लागूऔषध सुधार केन्द्र अब सरकारी तहबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

सरकारले प्रदेशका दुई स्थानमा सुधार केन्द्र स्थापना गर्ने योजना बनाएको छ । ती केन्द्र सञ्चालनका लागि कोभिड–१९ महामारीका बेला निर्माण गरिएका क्वारेन्टाइन संरचनालाई पुनः उपयोगमा ल्याइने तयारी गरिएको मन्त्री पराजुलीले बताए । सरकारले यस कदमलाई लागूऔषध दुर्व्यसन नियन्त्रणसँगै सामाजिक पुनःस्थापनाको अभियानका रूपमा अघि बढाउने जनाएको छ ।

यस्तै, पहाडी जिल्लाबाट तराईतर्फ बढ्दो बसाइँसराइलाई नियन्त्रण गर्ने विषयलाई पनि नीति तथा कार्यक्रमको प्रमुख एजेन्डाका रूपमा समेटिने भएको छ । रोजगारी, पूर्वाधार र सेवा सुविधाको अभावका कारण बढ्दो पलायन रोक्न पहाडी क्षेत्र लक्षित विकास कार्यक्रम ल्याइने सरकारको तयारी छ ।

सरकारले पहाड केन्द्रित पूर्वाधार विस्तार, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण तथा साना–मझौला उद्योग विस्तारमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने रणनीति बनाएको जनाएको छ । प्रदेश सरकारले यसलाई ‘स्थानीय अर्थतन्त्र पुनर्जीवन’ अभियानसँग जोडेर अघि बढाउने संकेत दिएको छ ।