आगामी दिन दिन कोशीसहित तराईका जिल्लामा अत्यधिक गर्मी हुने अनुमान, ३८ डिग्री तापक्रम नाघ्न चेतावनी

Breaking Nepal

बिहीबार ,जेष्ठ २१ , २०८३ २१:४६

विराटनगर / देशका तराई क्षेत्रहरूमा तापक्रम उल्लेख्य रूपमा बढ्ने संकेत देखिएसँगै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी कोशी प्रदेशका तराई जिल्लासहित मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही भूभागमा आगामी तीन दिन अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम क्रमशः बढ्दै जाने र केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ । गर्मीको प्रभावले दैनिक जनजीवन, कृषि गतिविधि तथा श्रम क्षेत्रमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

विशेष गरी मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा आगामी तीन दिनसम्म मध्यम स्तरको तातो लहर (हिट वेभ) चल्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । यद्यपि कोशी प्रदेशका केही तराई जिल्लामा पनि अत्यधिक गर्मी रहने संकेत देखिएकाले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।

महाशाखाले कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा ‘हट डे’ अर्थात् अस्वाभाविक रूपमा तातो दिनको अवस्था विकसित हुन सक्ने जनाएको छ । यस अवधिमा बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा खुला क्षेत्रमा काम गर्ने श्रमिकहरू बढी प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक बाहेक दिउँसोको समयमा बाहिर ननिस्कन सुझाव दिइएको छ।

पानी प्रशस्त पिउने, प्रत्यक्ष घामबाट जोगिने, हल्का र सुती कपडा प्रयोग गर्ने तथा मौसमसम्बन्धी आधिकारिक सूचनामा नियमित रूपमा अपडेट रहन महाशाखाले आग्रह गरेको छ।

गर्मीको तीव्रता बढ्दै जाँदा कोशी प्रदेशका तराई जिल्लाहरूमा जनस्वास्थ्य र दैनिक गतिविधिमा चुनौती थपिन सक्ने देखिएकाले स्थानीय तह तथा सरोकारवाला निकायलाई समेत आवश्यक तयारीमा जुट्नुपर्ने अवस्था देखिएको छ।