सातै प्रदेशमध्ये उत्कृष्ट घोषित सिएनआई कोशी, निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याउने तीन उद्योग सम्मानित

Breaking Nepal

शनिबार ,जेष्ठ २३ , २०८३ २१:०९

विराटनगर / नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ केन्द्रीय अधिवेशनमा सिएनआई कोशी प्रदेशलाई सातवटै प्रदेशमध्ये ‘उत्कृष्ट प्रदेश–२०२६’ को सम्मान प्रदान गरिएको छ ।

अधिवेशनका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सिएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडालाई उत्कृष्ट प्रदेशको ट्रफी प्रदान गर्दै सम्मान गरेका हुन् ।

नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डेको सभापतित्वमा सम्पन्न अधिवेशनमा संस्थापक अध्यक्ष विनोद चौधरीसहित उद्योग तथा निजी क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सिएनआईका अनुसार संस्थागत सक्रियता, उद्योगी–व्यवसायीबीच समन्वय, निजी क्षेत्रको आवाजलाई प्रभावकारी रूपमा उठाउने भूमिका तथा औद्योगिक विकासमा पुर्‍याएको योगदानका आधारमा सिएनआई कोशी प्रदेशलाई यो सम्मान प्रदान गरिएको हो ।

यसै अवसरमा उत्पादनमूलक उद्योग स्थापना गरी निर्यात प्रवर्द्धन तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउने कोशी प्रदेशका तीन उद्योगलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने उद्योगमा कटहरीस्थित बाबा भेजिटेबल आयल इन्डस्ट्रिज प्रालि, इटहरीस्थित रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र मोरङस्थित शिवम् प्लास्टिक इन्डस्ट्रिज रहेका छन् ।

उद्योगहरूको तर्फबाट निर्देशकहरू प्रकाश मुण्डडा, शशिकान्त अग्रवाल र विशाल थापाले सम्मानपत्र ग्रहण गरेका थिए ।

अधिवेशनमा सिएनआई कोशी प्रदेशको तर्फबाट अध्यक्ष सारडाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्डडा, संस्थापक अध्यक्ष भीम घिमिरे, प्रमुख सल्लाहकार महेश जाजु, संस्थापक सदस्य नवीन रिजाल तथा महानिर्देशक विजयहरि शर्मालगायतको सहभागिता रहेको थियो ।

सम्मान प्राप्तिपछि सिएनआई कोशी प्रदेशले यस उपलब्धिलाई संस्थाका नेतृत्व, सदस्य, सचिवालयका कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको साझा प्रयासको परिणाम भएको जनाएको छ । संस्थाले आगामी दिनमा पनि उद्योग प्रवर्द्धन, निजी क्षेत्रको सुदृढीकरण तथा आर्थिक विकासमा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।