रवि र शिशिरको भारत भ्रमणमाथि नीलाम्बर आचार्यको गम्भीर टिप्पणी

Breaking Nepal

आइतबार ,जेष्ठ २४ , २०८३ १४:०२

काठमाडौं– नेपाल–भारत प्रबुद्ध समूहका सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य ले हालै भएका दुई उच्चस्तरीय भारत भ्रमणका क्रममा नेपालका प्रमुख सीमा विवादका विषय नउठाइएको भन्दै प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। तर नेपालले लामो समयदेखि उठाउँदै आएका लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्तासम्बन्धी विषयमा कुनै सार्वजनिक चर्चा नभएकोमा उनले चासो व्यक्त गरेका छन्।

आचार्यले नेपालका लागि संवेदनशील मानिएका सीमा मुद्दा जनस्तर र संसद्मा समेत बहसको विषय बन्दै आएको उल्लेख गर्दै यस्ता विषय मित्र राष्ट्रबीच खुला रूपमा उठाइनु आवश्यक रहेको धारणा राखेका छन्।

उनका अनुसार छिमेकी राष्ट्रसँगको सम्बन्ध सुदृढ बनाउने प्रयास स्वागतयोग्य भए पनि राष्ट्रिय हितसँग जोडिएका विषयमा स्पष्ट संवाद हुनुपर्ने अपेक्षा जनमानसमा रहेको छ।

रास्वपा सभापति लामिछाने हालै भारत भ्रमणका क्रममा नयाँदिल्ली, लखनउ र अयोध्या पुगेका थिए। त्यस्तै परराष्ट्रमन्त्री खनाल पनि शुक्रबार नयाँदिल्ली पुगेका थिए। दुवै भ्रमणका क्रममा भारतसँगका सीमा विवादका विषयमा कुनै सार्वजनिक जानकारी नआएको अवस्थामा आचार्यको टिप्पणी सार्वजनिक भएको हो।

उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने क्रममा आपसी सरोकारका संवेदनशील विषयहरूमा पनि स्पष्ट र खुला संवाद आवश्यक रहेको बताएका छन्।