जीवन विकास सामुदायिक अस्पतालको ‘वर्ल्ड क्लास’ लक्ष्य, पहिलो वर्षमै अत्याधुनिक स्वास्थ्य सेवामा उल्लेखनीय फड्को

Breaking Nepal

सोमबार ,जेष्ठ २५ , २०८३ १६:५०

विराटनगर / पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ मानक स्थापित गर्ने लक्ष्यसहित सञ्चालनमा आएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले पहिलो वर्ष सफलतापूर्वक पूरा गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ हल्दिबारीस्थित २०० शय्याको अस्पतालले एक वर्षमै गुणस्तरीय, सर्वसुलभ तथा प्रविधिमैत्री स्वास्थ्य सेवामार्फत नागरिकको विश्वास जित्न सफल भएको जनाएको छ ।

अस्पतालले प्रथम वार्षिकोत्सव मनाउँदै आगामी दिनमा संस्थालाई ‘वर्ल्ड क्लास’ स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन योजना सार्वजनिक गरेको छ । अस्पतालका अध्यक्ष तथा संस्थापक योगेन्द्र मण्डलले स्वास्थ्य क्षेत्रमा सेवा, प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजनमार्फत अन्तर्राष्ट्रिय स्तरको संस्था निर्माण गर्ने लक्ष्य लिइएको बताए ।

“हाम्रो उद्देश्य अस्पताललाई केवल उपचार केन्द्रमा सीमित राख्नु होइन, गुणस्तरीय स्वास्थ्य सेवाको नमुना संस्थाका रूपमा स्थापित गर्नु हो,” उनले भने, “ग्रामीण भेगका गरिब, विपन्न तथा आम नागरिकले सहज पहुँचसहित उच्चस्तरीय उपचार पाउने वातावरण निर्माणमा हामी केन्द्रित छौं ।”

मोरङ क्षेत्र नम्बर–५ का पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेका मण्डलको अग्रसरतामा स्थापना भएको अस्पतालले पूर्वी नेपालका विभिन्न जिल्लासहित सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई समेत सेवा प्रदान गर्दै आएको छ । गैरनाफामूलक अवधारणामा सञ्चालित अस्पतालले अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति र सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले अस्पतालले छोटो अवधिमै हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी, जनमैत्री र सेवामुखी बन्नुपर्नेमा जोड दिइन् ।

अस्पतालका सञ्चालक सञ्जयकुमार मण्डलले जीवन विकास समाजले तीन दशकदेखि निर्माण गरेको सामाजिक विश्वासलाई स्वास्थ्य क्षेत्रमा पनि संस्थागत रूपमा स्थापित गर्ने अभियान जारी रहेको बताए । उनले गरिबी न्यूनीकरण र सामाजिक रूपान्तरणका लक्ष्यसँगै स्वास्थ्य सेवामा पनि सर्वसाधारणको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिकोत्सव समारोहमा अस्पतालका संयोजक तेजस्वी मण्डलले स्थापना भएको पहिलो वर्षमै अस्पताल ग्रामीण समुदायका लागि भरोसाको स्वास्थ्य केन्द्रका रूपमा स्थापित भएको दाबी गरे । उनका अनुसार अस्पतालले सिटिस्क्यान, एमआरआईलगायत अत्याधुनिक निदान सेवा सञ्चालनमा ल्याइसकेको छ भने मुटुरोग उपचारका लागि आवश्यक क्याथल्याब सेवा समेत छिट्टै सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. आर.के. मण्डलले एक वर्षको अवधिमा हजारौं बिरामीले विशेषज्ञ स्वास्थ्य सेवा लिएको जानकारी दिँदै अस्पतालप्रतिको जनविश्वास उल्लेखनीय रूपमा बढिरहेको बताए। “छोटो अवधिमै प्राप्त भएको नागरिकको विश्वास हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” उनले भने ।

स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरणको प्रयोग र विशेषज्ञ चिकित्सकीय सेवाको उपलब्धतासँगै जीवन विकास सामुदायिक अस्पतालले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रको प्रमुख गन्तव्य बन्ने संकेत देखाएको छ । संस्थाले दोस्रो वर्षमा प्रवेशसँगै सेवा गुणस्तर, पूर्वाधार विस्तार र विशेषज्ञ उपचार प्रणालीलाई थप सुदृढ बनाउने रणनीति अघि सारेको जनाएको छ ।