कक्षा ११ भर्ना अभियानलाई गति दिँदै आदर्श माविद्वारा अभिमुखीकरण, उत्कृष्ट विद्यार्थी सम्मानित

Breaking Nepal

सोमबार ,असार १ , २०८३ १०:५१

विराटनगर / विराटनगर–७ स्थित देशकै ऐतिहासिक विद्यालय आदर्श माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, अध्ययन प्रणाली, अनुशासन, सहपाठ्य गतिविधि तथा भविष्यका अवसरबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालयको शैक्षिक दृष्टिकोण, उपलब्धि र आगामी योजनाबारे प्रस्तुति दिएका थिए । उनले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ तथा प्रतिस्पर्धी शैक्षिक वातावरण निर्माणमा विद्यालयले निरन्तर काम गरिरहेको बताए । विभिन्न विषय शिक्षकहरूले पनि विज्ञान, व्यवस्थापन र शिक्षा संकायका अध्ययन अवसर, करियर सम्भावना तथा विषयगत विशेषताबारे जानकारी गराएका थिए ।

विद्यालयले यस अवसरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीमध्ये विज्ञान, व्यवस्थापन तथा शिक्षा संकायमा उत्कृष्ट नतिजा हासिल गर्ने तीन जना विद्यार्थीलाई सम्मान गरेको थियो । विद्यालयका अनुसार उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै प्रतिस्पर्धात्मक र उपलब्धिमूलक शैक्षिक संस्कृतिलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण लामिछानेको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न वक्ताले गुणस्तरीय शिक्षासँगै नैतिकता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासमा विद्यालयको भूमिकाबारे धारणा राखेका थिए ।

विद्यार्थीको तर्फबाट एमबिबिएस अध्ययनरत पूर्वविद्यार्थी मनिष खनालले विद्यालयले निर्माण गरेको शैक्षिक आधारले उच्च शिक्षाको यात्रामा महत्वपूर्ण योगदान दिएको अनुभव सुनाएका थिए । त्यसैगरी कक्षा ११ मा नयाँ भर्ना भएकी विद्यार्थी रञ्जना कोइरालाले विद्यालयप्रति विश्वास व्यक्त गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पछिल्ला वर्षहरूमा शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा विश्वविद्यालय प्रवेश परीक्षामा सफल विद्यार्थी उत्पादनका कारण आदर्श माध्यमिक विद्यालय विराटनगर क्षेत्रकै आकर्षक शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको विद्यालय प्रशासनले जनाएको छ । नयाँ शैक्षिक सत्रसँगै विद्यालयले सिकाइको गुणस्तर अभिवृद्धि, करियर परामर्श, डिजिटल शिक्षण प्रणाली तथा विद्यार्थी केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ ।