Breaking Nepal

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने भएका छन् ।
भरतपुरस्थित गेस्ट हाउस चौरमा असार ७ गते आयोजना हुने उद्घाटन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम तय भएको रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सचिव भूमिनन्द बरालका अनुसार महाधिवेशन उद्घाटनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनअघि असार ६ गते शनिबार साँझ भरतपुरमै पार्टी केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रमसमेत तय गरिएको उनले जानकारी दिए ।
रास्वपाले असार ८ गते बिहानदेखि बन्दसत्र सुरु गर्ने तयारी गरे पनि महाधिवेशनको विस्तृत तथा अन्तिम कार्यतालिका भने अझै सार्वजनिक गरिएको छैन ।
पार्टी स्थापना पछि पहिलोपटक हुन लागेको राष्ट्रिय महाधिवेशनलाई रास्वपाको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।