रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध, महाधिवेशन निर्धारित समयभन्दा लम्बियो

Breaking Nepal

शुक्रबार ,असार १२ , २०८३ ०७:४७

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । उपसभापति पदका अर्का आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्लेको निर्विरोध चयन सुनिश्चित भएको हो ।

यसअघि पार्टी सभापतिमा रवि लामिछाने पनि निर्विरोध चयन भइसकेका छन् । पार्टी नेतृत्वको शीर्ष दुई पदमा प्रतिस्पर्धा बिना नै चयन प्रक्रिया टुंगिएको छ ।

चितवनमा असार ४ गतेदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन प्रारम्भिक कार्यतालिका अनुसार तीन दिनमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, निर्वाचन प्रक्रिया र आन्तरिक व्यवस्थापनका कारण महाधिवेशन छैटौं दिनसम्म लम्बिएको छ ।

पार्टीले पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरेको छैन । यसले बाँकी पदहरूको निर्वाचन प्रक्रिया कहिले टुंगिने भन्ने विषयमा अन्योल कायम रहेको छ ।

यसअघि केही असन्तुष्टि र विवादका बीच बिहीबार केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो। अब बाँकी पदाधिकारीहरूको टुंगो लागेसँगै महाधिवेशन समापन हुने अपेक्षा गरिएको छ ।

महाधिवेशन लम्बिँदा संगठनात्मक व्यवस्थापन, निर्वाचन प्रक्रिया र नेतृत्व चयनलाई लिएर पार्टीभित्र चासो बढेको छ । नेतृत्व चयनसँगै रास्वपाले आगामी राजनीतिक रणनीति र संगठन विस्तारलाई कसरी अघि बढाउँछ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रूपमा हेरिएको छ ।