Breaking Nepal

काठमाडौं / युरोपमा यस वर्षको गर्मीयाम सुरु भएसँगै देखिएको तीव्र तातो लहरले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार जुन २१ यता उच्च तापक्रमसँग सम्बन्धित कारणले युरोपभर १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएका छन् ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारीअनुसार अत्यधिक गर्मी अहिले युरोपका लागि मौन जनस्वास्थ्य संकटका रूपमा देखिएको छ । उनका अनुसार गर्मीबाट उत्पन्न हुने शारीरिक तनाव ‘साइलेन्ट किलर’का रूपमा परिचित भए पनि यसको जोखिमबारे अझै पर्याप्त सतर्कता अपनाइएको छैन ।
उनले युरोपका अधिकांश घर, कार्यालय तथा विद्यालय चरम तापक्रम सहन सक्ने संरचनामा निर्माण नभएकाले उच्च तापक्रमको असर झन् गम्भीर बन्दै गएको उल्लेख गरेका छन्। साथै, पृथ्वीमा सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महादेश युरोप रहेको र यहाँको तापक्रम वृद्धि विश्व औसतको तुलनामा झन्डै दोब्बर गतिमा भइरहेको उनको भनाइ छ ।
गर्मीको लहरले युरोपका विभिन्न मुलुकमा नयाँ तापक्रम रेकर्ड कायम गरिरहेको छ । जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा हालै उच्च तापक्रमका नयाँ कीर्तिमान बनेका छन् भने भीषण गर्मी पूर्वी युरोपतर्फ थप फैलिने क्रम जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उता फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयले पनि बुधबारदेखि हालसम्म देशभर अपेक्षाभन्दा करिब १ हजार बढी अतिरिक्त मृत्यु भएको जनाएको छ। तीमध्ये अधिकांश ६५ वर्ष वा सोभन्दा माथिका नागरिक रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । यस अवधिमा घरमै हुने मृत्युको संख्या समेत करिब ४० प्रतिशतले बढेको उल्लेख गरिएको छ ।
स्वास्थ्य विज्ञहरूले वृद्धवृद्धा, दीर्घरोगी तथा कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरूलाई अत्यधिक गर्मीबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । जलवायु परिवर्तनसँगै तातो लहरको आवृत्ति र तीव्रता बढ्दै गएकाले यस्ता चरम मौसमी घटनाप्रति पूर्वतयारी र अनुकूलन क्षमता विस्तार गर्नुपर्ने आवश्यकता झन् बढ्दै गएको उनीहरूको भनाइ छ ।