Breaking Nepal

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वले नेपाली किसानको परिश्रम, उत्पादन र आत्मनिर्भरताको भावनालाई थप सुदृढ बनाउने बताएका छन् ।
असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले धान रोपाइँसँगै समृद्ध भविष्यको आधार निर्माण हुने उल्लेख गरेका छन् । कृषिप्रधान मुलुक नेपालको आर्थिक समृद्धि किसानको मेहनतसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै उनले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषि व्यवसायको विस्तार अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् ।
उनले किसानको सम्मानसँगै आधुनिक कृषि प्रविधिको विस्तार, उत्पादनमुखी योजना तथा कृषि उद्यमशीलताको विकासमा जोड दिनुपर्ने उल्लेख गरेका छन् । कृषिको विकासबिना समृद्ध नेपालको लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ छ ।
मेयर कोइरालाले दही–चिउरा खाने परम्पराले श्रमप्रतिको सम्मान, आपसी सद्भाव, सहकार्य र सांस्कृतिक एकतालाई बलियो बनाउँदै आएको उल्लेख गरेका छन् । उत्पादन र संस्कृतिलाई जोड्ने यस्ता मौलिक पर्वले नेपाली समाजको पहिचानलाई थप समृद्ध बनाएको उनको भनाइ छ ।
विराटनगर महानगरपालिका किसानमैत्री नीति, आधुनिक खेती प्रणाली, उत्पादनमुखी कार्यक्रम तथा कृषि उद्यमशीलताको प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको उनले बताएका छन् ।
शुभकामनाको अन्त्यमा मेयर कोइरालाले राष्ट्रिय धान दिवसले सम्पूर्ण किसानमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास थप्ने विश्वास व्यक्त गरेका छन् । सबैको खेतबारी हराभरा बन्नुका साथै उत्पादन वृद्धि, किसानको जीवनस्तरमा सुधार तथा हरेक परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य कायम होस् भन्ने कामना उनले गरेका छन् ।