Breaking Nepal

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएका छन्।
२३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिक र आकर्षक पेसाका रूपमा विकास गर्न सके विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात घटाउन सकिने बताए।
उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सबैको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गर्दै जीविकोपार्जनमा सीमित नभई व्यावसायिक कृषितर्फ अग्रसर हुन कृषकलाई आह्वान गरे। साथै, सम्बन्धित निकायलाई कृषिको आधुनिकीकरणका लागि आवश्यक सहयोग र नीति कार्यान्वयनमा ध्यान दिन आग्रह गरे।
राष्ट्रपति पौडेलले असार महिनालाई धान रोपाइँको विशेष समयका रूपमा उल्लेख गर्दै नेपाली जीवनशैली प्रकृति, माटो र कृषिसँग गहिरो रूपमा जोडिएको बताए। हिलोमा धान रोप्ने परम्परा तथा दही–चिउरा खाने संस्कृतिले राष्ट्रिय धान दिवसलाई विशेष बनाएको उनको भनाइ छ।
उनले जलवायु परिवर्तनका कारण धान उत्पादनमा परेको नकारात्मक असर न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औँल्याए।
राष्ट्रपति पौडेलले संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि, आधुनिकीकरण र कृषकको बजार पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
यस वर्ष राष्ट्रिय धान दिवस ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित देशभर मनाइँदै छ।