चितवनमा फरक शैलीमा मनाइयो धान दिवस, विद्यार्थीले खेतमै सिके धान रोप्न

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ १६:३८

काठमाडौं– राष्ट्रिय धान दिवसको अवसरमा देशभर रोपाइँ, दही–चिउरा खाने र हिलो खेल्ने कार्यक्रम भइरहेका बेला चितवनको सौराहास्थित ग्रिन सोसाइटी पब्लिक स्कुलले विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै फरक शैलीमा दिवस मनाएको छ।

विद्यालयले धान दिवसको सन्दर्भमा विद्यार्थीलाई धानखेती, खेत र हिलोको महत्त्वबारे जानकारी गराएको थियो। त्यसपछि विद्यार्थीहरूले धान दिवससम्बन्धी गीत प्रस्तुत गरेपछि नजिकैको खेतमा पुगेर प्रत्यक्ष रूपमा धान रोप्न सिकेका थिए।

कार्यालय सहायक दुर्गा खनालले विद्यार्थीलाई धानको बिरुवा समाउने तरिका, रोपाइँको उचित दूरी र एकै ठाउँमा कति बिरुवा रोप्ने भन्ने विषयमा व्यावहारिक प्रशिक्षण दिएकी थिइन्। त्यसपछि विद्यार्थीहरूले आफैं खेतमा धान रोपेर अनुभव हासिल गरेका थिए।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख रोविन अधिकारीले विद्यार्थीलाई नियमित रूपमा व्यावहारिक सीपमूलक शिक्षा दिइँदै आएको र धान दिवसको कार्यक्रम त्यसैको निरन्तरता भएको बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष काम गरेर सिक्दा विषयवस्तु अझ राम्रोसँग बुझ्न र लामो समयसम्म सम्झन सहज हुने अनुभव सुनाए।

विद्यालयका प्रधानाध्यापक गोपिलाल श्रेष्ठले नेपालमा व्यावहारिक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै कृषि कर्मजस्ता जीवनोपयोगी सीप विद्यालयस्तरमै सिकाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

विद्यालयका प्रबन्ध निर्देशक शीलाल परियारका अनुसार यसअघि पनि विद्यार्थीलाई आलु र केराउ खेतीबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो। उनले किताबमा सीमित ज्ञानभन्दा प्रत्यक्ष अभ्यासबाट सिकेको ज्ञान बढी प्रभावकारी र दिगो हुने विश्वास व्यक्त गरे।