थमन विक हत्या प्रकरण : उच्च अदालतद्वारा पूर्वसांसद लक्ष्मी कोइरीलाई पाँच वर्ष कैद

Breaking Nepal

बिहीबार ,असार १८ , २०८३ ०७:१५

काठमाडौं / उच्च अदालत जनकपुरले मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको छ।

कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जिल्ला अदालत महोत्तरीले दिएको सफाइको फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गरेको हो। जिल्ला अदालतले मंसिर २०८० मा उनी सांसद रहँदाकै अवस्थामा आरोपबाट सफाइ दिएको थियो।

यो घटना २५ भदौ २०७२ मा मधेश आन्दोलनका क्रममा महोत्तरीमा भएको थियो। आन्दोलनकारी र प्रहरीबीचको झडपमा गम्भीर घाइते भएका असई थमन विकलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा सनोखडा क्षेत्रमा एम्बुलेन्स रोकिएपछि आक्रमणकारीले खेतबाट निकालेर सांघातिक आक्रमण गरी हत्या गरेको अभियोग थियो।

मुद्दा दर्तापछि कोइरी फरार रहेकै अवस्थामा एमाले प्रवेश गरी २०७९ को निर्वाचनबाट महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। फरार रहँदै संसद् बैठकमा उपस्थित भएको विषयले त्यतिबेला व्यापक विवाद समेत निम्त्याएको थियो।

उच्च अदालतले घटनामा संलग्न रहेको अभियोगमा प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेको छ। यस्तै अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको सजाय संशोधन गर्दै पाँच–पाँच वर्ष कैद कायम गरिएको छ। पवन कापरलाई पनि जिल्ला अदालतले दिएको सफाइ उल्ट्याउँदै पाँच वर्ष कैद सजाय सुनाइएको छ।

प्रत्यक्षदर्शी तथा सहआरोपीहरूको बयानलाई आधार मानेर उच्च अदालतले जिल्ला अदालतको फैसला संशोधन गरेको हो। कोइरीलाई यसअघि एमालेले पछिल्लो उपनिर्वाचनमा पनि महोत्तरी–१ बाट उम्मेदवार बनाएको थियो, जहाँ उनी तेस्रो स्थानमा सीमित भएका थिए।