लहान नगरपालिका साक्षर घोषणा, सिरहामै पहिलो र मधेसको १४औँ साक्षर पालिका

Breaking Nepal

बुधबार ,असार २४ , २०८३ २३:०१

सिरहा– सिरहाको लहान नगरपालिका औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा गरिएको छ। योसँगै लहान सिरहा जिल्लाकै पहिलो तथा मधेस प्रदेशको १४औँ साक्षर पालिका बनेको छ।

नगरप्रमुख महेश चौधरीका अनुसार नगरभित्र स्थायी बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत नागरिक साक्षर रहेका छन्। राष्ट्रिय साक्षरताको मापदण्डअनुसार उक्त उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएमा स्थानीय तहलाई साक्षर घोषणा गर्न सकिने व्यवस्था अनुसार लहानलाई साक्षर नगरपालिका घोषणा गरिएको हो।

नगर साक्षर घोषणा समन्वय समितिको २०८३ असार ८ गतेको सिफारिस तथा २०८३ असार ११ गते सम्पन्न १८औँ नगरसभाको निर्णयका आधारमा घोषणा गरिएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख चौधरीले लहानलाई निरन्तर शिक्षामैत्री र पूर्ण साक्षर नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय जनगणना २०७८ अनुसार लहान नगरपालिकाको जनसंख्या १ लाख २ हजार ३१ रहेको छ। नगरपालिकाले ६० हजार ६९० नागरिक साक्षर भएको जनाएको छ। निरक्षर नागरिकलाई साक्षर बनाउन विद्यालय, शिक्षक, विद्यार्थी तथा सिकाइ केन्द्रमार्फत विभिन्न अभियान सञ्चालन गरिएको थियो।

घोषणा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले आफू मन्त्री बनेपछि प्रदेशलाई साक्षर बनाउने निर्णयलाई पहिलो प्राथमिकता दिएको बताए। उनले मधेस प्रदेशका ३,२०० सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार, छात्रावास व्यवस्थापन, दलित तथा विपन्न वर्गका ४ हजार विद्यार्थीलाई आवास र भोजन सुविधा, ५०० स्वयंसेवक शिक्षक नियुक्ति तथा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई अनुदान उपलब्ध गराइने जानकारी दिए।