Breaking Nepal

झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको निर्माण कार्यले पछिल्लो समय तीव्र गति लिएको छ। एसियाली विकास बैंक (एडीबी) को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ।
९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ। आयोजनाअनुसार काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर र सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक विस्तार गरिँदै छ।
आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भएको छ। मौसम अनुकूल रहे दैनिक ४०० देखि ८०० मिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ भने एक साताभित्र करिब सात किलोमिटर सडक कालोपत्र गर्न सकिने अपेक्षा गरिएको छ।
हालसम्म पहिलो प्याकेजको भौतिक प्रगति ४७ प्रतिशत, दोस्रो प्याकेजको ४२ प्रतिशत र तेस्रो प्याकेजको १९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।
निर्माण कम्पनीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँअघि थप १५ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको छ। वर्षायामका कारण केही चुनौती भए पनि निर्माण कार्य निरन्तर अघि बढिरहेको आयोजना प्रमुख पन्तले बताए।
२०८० साल माघदेखि सुरु भएको यो आयोजना २०८३ साल माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल सडकको बीच भागमा तीन मिटर चौडाइको डिभाइडर निर्माणसँगै दुवैतर्फ सडक विस्तारको काम समानान्तर रूपमा भइरहेको छ।