Breaking Nepal

विराटनगर। केन्द्रमा बनेको नयाँ राजनीतिक शक्ति समीकरणसँगै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको तयारी तीव्र बनेको छ। एमाले नेतृत्वले प्रदेश सरकार पुनर्गठनको गृहकार्य अघि बढाउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई जिम्मेवारी दिने दिशामा छलफल केन्द्रित गरेको स्रोतहरूको भनाइ छ।
पार्टीका उच्च तहमा भएको आन्तरिक परामर्शअनुसार नेतृत्व परिवर्तनका विषयमा सकारात्मक सहमति जुटिसकेको दाबी गरिएको छ। औपचारिक निर्णय भने पार्टीको केन्द्रीय नेतृत्वबाट हुने अपेक्षा गरिएको छ।
केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको नयाँ सत्ता समझदारीपछि प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँटको खाका तयार भएको स्रोतहरूको दाबी छ। सोही समझदारीअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले सम्हाल्ने तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले लिने सहमति बनेको बताइएको छ। त्यसकै निरन्तरताका रूपमा कोशीमा पनि नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढेको हो।
काठमाडौंमा रहेका मेन्याङ्बोले आफ्नो नाम नेतृत्वका लागि गम्भीर रूपमा छलफलमा रहेको स्वीकार गरेका छन्। केन्द्रीय नेतृत्वबाट सकारात्मक संकेत प्राप्त भएकाले आफ्नो सम्भावना बलियो देखिएको उनको भनाइ छ।
एमालेभित्रको छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशीमा नयाँ नेतृत्वलाई अघि सार्ने पक्षमा जोड दिएको स्रोतहरूको दाबी छ। पछिल्लो समय ओली र मुख्यमन्त्री कार्कीबीच राजनीतिक समन्वय पहिलेजस्तो सहज नरहेको चर्चा पनि पार्टी वृत्तमा भइरहेको छ। त्यसैले यसपटक प्रदेश सरकारलाई नयाँ नेतृत्वमार्फत अघि बढाउने विकल्पलाई प्राथमिकता दिइएको बताइन्छ।
ताप्लेजुङ–१ (१) बाट निर्वाचित मेन्याङ्बो प्रदेश सरकार र संघीय राजनीतिमा अनुभव बटुलेका नेता मानिन्छन्। कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद्मा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले पछि स्वास्थ्य मन्त्रालयको समेत नेतृत्व गरेका थिए। २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनी राष्ट्रिय राजनीतिमा सक्रिय बनेका थिए।
यद्यपि प्रदेश तहका नेताहरूले नेतृत्व परिवर्तनबारे औपचारिक निर्णय भइनसकेको बताएका छन्। एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेतका अनुसार प्रदेश संसदीय दल वा प्रदेश कमिटीमा यस विषयमा औपचारिक छलफल भएको छैन। प्रदेश तहमा कार्कीलाई निरन्तरता दिनुपर्ने मत पनि रहेको भए पनि अन्तिम निर्णय केन्द्रीय नेतृत्वले गर्ने भएकाले त्यसअनुसार प्रदेश सरकारको नेतृत्व टुंगो लाग्ने अवस्था रहेको उनको भनाइ छ।
केन्द्रीय निर्णय सार्वजनिक भएसँगै कोशी प्रदेशको नयाँ सरकारको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय औपचारिक रूपमा स्पष्ट हुने अपेक्षा गरिएको छ। त्यससँगै मन्त्रिपरिषद् पुनर्गठन र सत्ता साझेदारीको नयाँ संरचना पनि अघि बढ्ने सम्भावना रहेको छ।