Breaking Nepal

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय संसदका आफ्ना सांसदहरूको संसदीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको छ।
काठमाडौंको स्वयम्भूस्थित एक होटलमा आयोजित कार्यशालामा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू सहभागी भएका थिए। कार्यक्रममा संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुने तरिका, संसदीय प्रक्रिया, विधेयक निर्माण तथा संवैधानिक व्यवस्थासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
नेकपा नेता तथा सांसद वर्षमान पुनले सांसदहरूको ज्ञान, सीप र संसदीय भूमिकालाई थप प्रभावकारी बनाउन कार्यशाला आयोजना गरिएको जानकारी दिए।
कार्यशालामा डा. बेदुराम भुसाल, रामनारायण बिडारी, खिमलाल देवकोटा तथा राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयालले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए। उनीहरूले संसदीय अभ्यास, संसद् नियमावली, संविधान, विधेयक निर्माण प्रक्रिया, संशोधन तथा प्रत्यायोजित विधायनका विषयमा प्रस्तुति दिएका थिए।
नेकपाका अनुसार सांसदहरूको कार्यसम्पादन क्षमता वृद्धि गर्दै संसदमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। हाल संघीय संसदमा नेकपाका ३४ सांसद रहेका छन्।