विकेभिएमद्वारा ४ जीपीए ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान, ५६ विद्यार्थीलाई करिब २० लाख रुपैयाँ बराबरको छात्रवृत्तिसहित सम्मान

Breaking Nepal

शनिबार ,जेष्ठ २३ , २०८३ १५:०६

विराटनगर / शैक्षिक उत्कृष्टता र विद्यार्थी प्रोत्साहनलाई संस्थागत संस्कारका रूपमा अघि बढाउँदै आएको विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम)ले ५६ जना विद्यार्थीलाई करिब २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ ।

विद्यालयमा शनिबार आयोजित वार्षिक पुरस्कार वितरण तथा स्वागत कार्यक्रममा शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रममा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जीपीए ल्याउने १८ जना विद्यार्थीलाई विशेष सम्मानसहित पुरस्कृत गरिएको थियो । उनीहरुलाई जनही २ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्तिसमेत प्रदान गरिएको विद्यालयका प्रिन्सिपल रविनकुमार दाहालले जानकारी दिए ।

यसैगरी नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत ३८ जना विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालय प्रशासनका अनुसार सम्बन्धित कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीलाई योग्यता र उपलब्धिका आधारमा छात्रवृत्ति वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय, विराटनगरका निर्देशक प्रकाशकुमार खरेलले विराटनगरलाई पूर्वको प्रमुख शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न निजी तथा सामुदायिक विद्यालयहरूको योगदान महत्वपूर्ण रहेको बताए । उनले विकेभिएमले निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै फरक पहिचान निर्माण गरेको उल्लेख गरे ।

‘शिक्षा केवल परीक्षा र अंकमा सीमित हुनुहुँदैन,’ उनले भने, ‘विद्यार्थीले व्यवहारिक ज्ञान, नेतृत्व क्षमता, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वसमेत विकास गर्नुपर्छ । विकेभिएमले त्यही दिशामा प्रभावकारी काम गरिरहेको देखिन्छ ।’

उनले विद्यालयबाट एकै वर्ष १८ जना विद्यार्थीले ४ जीपीए हासिल गर्नु आफैंमा उल्लेखनीय उपलब्धि भएको बताउँदै यसले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र शिक्षण पद्धतिको स्तरलाई पुष्टि गर्ने बताए। विद्यालयका विद्यार्थीहरू शैक्षिक क्षेत्रसँगै गीत–संगीत, खेलकुद, नृत्य तथा अन्य अतिरिक्त क्रियाकलापमा समेत अग्रणी रहेको उनको भनाइ थियो ।

विद्यालयका प्रिन्सिपल दाहालले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे । उनले सफलता केवल परीक्षाको नतिजाबाट मात्र नाप्न नसकिने उल्लेख गर्दै निरन्तर सिकाइ, अनुशासन र मेहनत नै दीर्घकालीन सफलताको आधार भएको बताए ।

‘उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी विद्यालयका लागि प्रेरणाका स्रोत हुन्,’ उनले भने, ‘उनीहरूको उपलब्धिबाट वर्तमान तथा नयाँ पुस्ताका विद्यार्थीले सिक्नुपर्ने धेरै कुरा छन् ।’

आइतबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम राखिएको भाइस प्रिन्सिपल अञ्जली दाहालले जानकारी दिइन् । कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान विषय अध्ययन हुन्छ । विज्ञानतर्फ बायो र कम्प्युटर पठनपाठन हुँदै आएको छ ।
नेपालको शिक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच विद्यार्थीलाई आर्थिक तथा नैतिक रूपमा प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम प्रभावकारी माध्यम बन्दै गएको छ । योग्य र मेहनती विद्यार्थीलाई सम्मान तथा छात्रवृत्तिमार्फत प्रोत्साहन गर्दा अध्ययनप्रतिको रुचि बढ्नुका साथै उत्कृष्टताको संस्कृति विकास हुने विश्वास गरिएको छ ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले गीत, संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यालयले आगामी वर्षहरूमा पनि शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र प्रतिभा विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।