Breaking Nepal

विराटनगर / समाज निर्माण, उद्यम विकास, शिक्षा, साहित्य, सञ्चार तथा सामाजिक सेवामा दीर्घकालीन योगदान पु¥याएका ११ जना ज्येष्ठ व्यक्तित्वलाई विराटनगरमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक बौद्धिक मञ्च विराटनगरले शनिबार आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वलाई सम्मान गर्दै उनीहरूको अनुभव र योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने प्रयास गरेको हो ।
मञ्चद्वारा आयोजित कार्यक्रममा समाजसेवी जगतप्रसाद अज्र्याल, सीता पोखरेल, उद्योगी ताराचन खेतान, शिवबहादुर कार्की, मधु पोखरेल, त्रिलोक न्यौपाने, भगतलाल श्रेष्ठ, साहित्यकार लव प्रधान ‘मित्र’, कमलकिशोर यादव, दामोदर घिमिरे तथा भुवनेश्वरी आचार्यलाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरूलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मञ्चका अध्यक्ष सुरबहादुर श्रेष्ठ, प्राध्यापक कविराज न्यौपाने, ज्येष्ठ नागरिक समाज कोशी प्रदेशका अध्यक्ष मणिकुमार अज्र्याल, समाजसेवी मोहन भट्टराई तथा केदार कार्कीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले समाजको समृद्धि र संस्थागत विकासमा ज्येष्ठ नागरिकहरूको भूमिका अतुलनीय रहेको बताए । उनले अनुभव, ज्ञान र जीवनभर आर्जित सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सके समाजले थप गति लिन सक्ने धारणा राखे ।
‘ज्येष्ठ नागरिकहरू हाम्रो समाजका जीवित इतिहास हुन्,’ उनले भने ‘उहाँहरूको अनुभवलाई पुस्तान्तरण गर्न सके विकास र सामाजिक रूपान्तरणको अभियान अझ प्रभावकारी बन्न सक्छ ।’
मञ्चका अध्यक्ष सुरबहादुर श्रेष्ठले सम्मानित सबै व्यक्तित्वले आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन उनीहरूको भूमिका प्रेरणादायी रहेको बताए । उनले ज्येष्ठ नागरिकहरूको सम्मान केवल औपचारिक कार्यक्रम नभई उनीहरूको योगदानप्रतिको सामाजिक कृतज्ञता भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा वडा नं. ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, ज्येष्ठ नागरिक समाज कोशी प्रदेशका अध्यक्ष मणिकुमार अज्र्याल तथा सम्मानित व्यक्तित्वहरूका तर्फबाट जगतप्रसाद अज्र्याल, मधु पोखरेल र लव प्रधान ‘मित्र’ले मन्तव्य राख्दै ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सामाजिक सक्रियतालाई राज्य तथा स्थानीय तहले नीति निर्माणसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
पछिल्लो समय नेपालमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको सन्दर्भमा उनीहरूको अनुभवलाई उत्पादनशील क्षेत्र, सामाजिक नेतृत्व तथा युवा पुस्ताको मार्गदर्शनमा उपयोग गर्नुपर्ने बहस बढिरहेको छ । यस्ता सम्मान कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मानको संस्कार विकास गर्नुका साथै समाजमा योगदानको मूल्यांकन गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।