Breaking Nepal

विराटनगर / मानव अधिकार तथा शान्ति समाजले आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा सार्वजनिक गरेको ‘आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो’ शीर्षक अवधारणापत्रमाथि विराटनगरमा छलफल गरेको छ।
समाजको मोरङ शाखाले आयोजना गरेको कार्यक्रममा साहित्यकार खेम नेपाली र मानवअधिकारकर्मी कोशराज न्यौपानेले अवधारणापत्रमाथि टिप्पणी गरेका थिए। कार्यक्रमको प्रमुख वक्ताका रूपमा एलिट क्लब विराटनगरकी अध्यक्ष इन्दिरा कार्की सहभागी थिइन्। कार्यक्रममा विभिन्न सामाजिक तथा नागरिक संस्थामा आबद्ध व्यक्तिहरूले पनि अवधारणापत्रबारे आफ्ना धारणा राखेका थिए।
मोरङ शाखाका अध्यक्ष डा. जीवन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रस्तुत अवधारणापत्रले मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय र जलवायु न्यायलाई आदर्श नागरिक समाज निर्माणका मूल आधारका रूपमा अघि सारेको छ।
अवधारणापत्रमा दण्डहीनताको अन्त्य, सङ्क्रमणकालीन न्यायको टुंगो, सुशासनसहितको लोकतन्त्रको सुदृढीकरण, युद्ध तथा आणविक अस्त्रको विरोध, दलित तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चितता र जलवायु न्यायका पक्षमा स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ। साथै संविधानको प्रस्तावनामा अहिंसा, जलवायु न्याय र जीवनचक्र–परिस्थिति सन्तुलनका मूल्य समावेश गर्नुपर्ने सुझाव पनि दिइएको छ।
शान्ति समाजले विगत तीन दशकदेखि स्वयंसेवी अभियानमार्फत मानव अधिकार संरक्षण, शान्ति प्रवर्द्धन, सामाजिक न्याय तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षा, नागरिक खबरदारी र सुशासनको पक्षमा अझ सशक्त भूमिका आवश्यक रहेको निष्कर्ष अवधारणापत्रले प्रस्तुत गरेको छ।