मनसुन थप सक्रिय बन्दै देशभर विस्तारको तयारी, कोशीमा आज भारी वर्षाको चेतावनी

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ ०८:५९

विराटनगर / मनसुनको प्रभाव सबैभन्दा बढी कोशी प्रदेशमा देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रदेशका केही क्षेत्रमा हावाहुरीसमेत चल्न सक्ने अनुमान छ।

हाल मनसुनी वायु कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभागमा सक्रिय रहेको छ भने गण्डकीका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा यसको प्रभाव कायम छ। विभागका अनुसार गण्डकी र लुम्बिनीका बाँकी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आगामी दुईदेखि तीन दिनभित्र मनसुन फैलिने सम्भावना रहेको छ।

मौसमविद्का अनुसार अहिले देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षा जारी छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ। देशका अन्य प्रदेशका पहाडी क्षेत्रमा समेत वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा भने कोशी प्रदेशमा मनसुन अझ सक्रिय हुने संकेत देखिएको छ। प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ। मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशीसहित बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

मनसुन क्रमशः पश्चिमतर्फ विस्तार भइरहेकाले आगामी केही दिन देशका अधिकांश क्षेत्रमा वर्षाको गतिविधि थप बढ्ने अनुमान गरिएको छ।