अफगानिस्तानभित्र पाकिस्तानी सैन्य कारबाही, २९ आतंकवादी मारिएको इस्लामाबादको दाबी

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ ०९:०८

काठमाडौं / पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको सैन्य कारबाहीमा २९ जना आतंकवादी मारिएको दाबी गरेको छ । गुप्तचर सूचनाका आधारमा आइतबार राति र सोमबार बिहानै गरिएको उक्त अभियानमा प्रतिबन्धित सशस्त्र समूहका संरचना तथा शिविरहरूलाई लक्षित गरिएको पाकिस्तान सरकारले जनाएको छ ।

पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ताउल्लाह तरारका अनुसार ड्युरान्ड रेखा नजिक प्रारम्भिक स्थलगत अभियान सञ्चालन गरिएपछि सीमा क्षेत्रमा सक्रिय जमात–उल–अहरार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का अड्डाहरूमा हवाई आक्रमण गरिएको हो ।

उनका अनुसार बाजौर क्षेत्रमा गरिएको स्थलगत कारबाहीका क्रममा जमात–उल–अहरारका कमान्डर खान फ्रोस उर्फ जबालसहित चार जना लडाकु मारिएका छन् । अभियानका क्रममा अन्य थुप्रै सदस्य घाइते भएको पनि पाकिस्तानको दाबी छ ।

पाकिस्तानी सेनाले अफगानिस्तानको पूर्वी कुनार प्रान्त तथा दक्षिण–पूर्वका पक्तिया र पक्तिका प्रान्तअन्तर्गत चामकानी र ज्ञान जिल्लामा समेत हवाई आक्रमण गरेको जनाएको छ। ती क्षेत्रमा टीटीपीसँग आबद्ध समूहहरूको गतिविधि बढ्दै गएको निष्कर्षका आधारमा कारबाही गरिएको पाकिस्तानको भनाइ छ ।

यद्यपि, अफगानिस्तानको तालिबान प्रशासनले पाकिस्तानको दाबी अस्वीकार गर्दै हवाई आक्रमणमा सर्वसाधारण नागरिक प्रभावित भएको आरोप लगाएको छ । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले महिला तथा बालबालिकासहित निर्दोष नागरिकको मृत्यु र घाइते भएको दाबी गर्दै घटनालाई अन्तर्राष्ट्रिय मानवीय मूल्यविपरीतको कार्यको संज्ञा दिएका छन् ।

सीमापार सुरक्षालाई लिएर पछिल्ला महिनाहरूमा पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ। दुवै पक्षले एकअर्कामाथि सीमावर्ती क्षेत्रमा सशस्त्र समूहलाई संरक्षण दिएको आरोप लगाउँदै आएका छन् ।