राष्ट्रिय धान दिवस आज, कोशीसहित देशभर धान रोपाइँको चटारो, दही–चिउरा खाने विशेष दिन पनि आजै

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ ०९:१९

विराटनगर / कोशी प्रदेशसहित देशभर आज असार १५ को अवसरमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ । कृषिप्रधान नेपालको कृषि संस्कृति, परम्परा र किसानको श्रमप्रतिको सम्मानस्वरूप खेतमा धान रोप्दै दही–चिउरा खाने चलनलाई निरन्तरता दिइएको हो ।

असार १५ नेपाली समाजमा धान रोपाइँको उत्सव मात्र नभई दही–चिउरा खाने सांस्कृतिक पर्वका रूपमा स्थापित छ । खेतमा रोपाइँको व्यस्ततापछि दही–चिउरा सेवन गर्दा शरीरमा शीतलता र ऊर्जा प्राप्त हुने विश्वास रहिआएको छ । खेतीपातीबाहेक विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नागरिकले पनि दही–चिउरा खाएर यो पर्व मनाउने गरेका छन् ।

ग्रामीण क्षेत्रमा किसानहरू असारे भाका गाउँदै हिलोमा धान रोपिरहेका छन् । रोपाइँसँगै लोकसंस्कृति, सामूहिक श्रम र आपसी सद्भावको परम्परा पनि जीवित राखिएको छ । सरकारले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेपछि यसको राष्ट्रिय महत्व अझ बढेको छ ।

यद्यपि यस वर्ष कोशीसहित देशका धेरै स्थानमा मनसुन सक्रिय हुन ढिलाइ भएकाले अपेक्षाअनुसार रोपाइँले गति लिन सकेको छैन । कतिपय क्षेत्रमा पर्याप्त वर्षा नहुँदा किसान चिन्तित छन् भने केही स्थानमा रासायनिक मलको उपलब्धताबारे पनि गुनासो सुनिएको छ । यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक मलको मौज्दात रहेको जनाएको छ ।

नेपालको कृषि अर्थतन्त्रको मेरुदण्ड मानिने धानबालीको सफल उत्पादनका लागि समयमै वर्षा, पर्याप्त सिँचाइ र कृषि सामग्रीको सहज उपलब्धता अपरिहार्य रहने सरोकारवालाले बताएका छन् ।