Breaking Nepal

उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्तीको समूह प्रवेश गर्दा स्थानीय बासिन्दा त्रसित बनेका छन् । गएराति गाउँ पसेको हात्तीले कम्तीमा ६ वटा घरमा क्षति पुर्याउनुका साथै खाद्यान्नसमेत नष्ट गरेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हात्तीको आक्रमणबाट बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका काठले बनेका तथा कर्कटपाताले छाएका घरमा ठूलो क्षति पुगेको छ । घरभित्र रहेको अन्नपातसमेत हात्तीले नष्ट गरेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी पुष्प राईका अनुसार रातिको समयमा अचानक हात्ती गाउँमा प्रवेश गरेपछि गाउँलेहरू ज्यान जोगाउन घर छाडेर भाग्न बाध्य भएका थिए । मानवीय क्षति भने हुन नपाएको जनाइएको छ ।
हात्तीबाट प्रभावित परिवारलाई चौदण्डीगढी नगरपालिकाले अस्थायी रूपमा सुरक्षित आवासको व्यवस्था गरेको छ। यता, कोशीटप्पु क्षेत्रबाट आएको अनुमान गरिएको हात्तीको समूह हाल लामाचौर र ४५ चोक आसपासको जङ्गली क्षेत्रमा रहेको जानकारी प्राप्त भएको छ ।
संभावित थप क्षति रोक्न तथा स्थानीयको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै टोली परिचालन गरेको जनाएको छ । सम्बन्धित निकायले स्थानीयलाई सतर्क रहन र हात्ती देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेका छन् ।