Breaking Nepal

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतस्थित भंकासे प्राकृतिक सुन्दरता, धार्मिक महत्व र शान्त वातावरणका कारण आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित भए पनि आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको छ।
समुद्री सतहदेखि करिब २,६०० मिटर उचाइमा रहेको भंकासे चारैतिर घना जङ्गल, अग्ला पहाड र हिमशृङ्खलाले घेरिएको छ। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
स्थानीय लोकबहादुर पुनका अनुसार पहाड भासिएर बनेको ठूलो भ्वाङका कारण यस स्थानको नाम अपभ्रंश हुँदै ‘भंकासे’ रहन गएको जनविश्वास छ। भ्वाङ नजिकै करिब १० रोपनी समथर जमिन रहेको छ, जसले यस क्षेत्रको प्राकृतिक आकर्षण अझ बढाएको छ।
भंकासेदेखि करिब २०० मिटर तल रहेको सिद्धथान धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यहाँ ऋषिमुनिहरूले तपस्या गरेको र देहत्याग गरेको विश्वास गरिन्छ। हाल पनि देशका विभिन्न स्थानबाट साधु–सन्त तथा तपस्वीहरू ध्यान र तपस्याका लागि यहाँ पुग्ने गरेका छन्।
भंकासे पुग्न वाखेतबाट करिब ४५ मिनेट पैदल यात्रा गर्नुपर्छ भने टोड्केबाट करिब ४० मिनेटको पैदल दूरीमा यो स्थल रहेको छ।
बेनी नगरपालिकाले ‘एक वडा, एक पर्यटन परियोजना’ अन्तर्गत सिद्धथान र भंकासेलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाएको छ। यसका लागि पदमार्ग, सडक निर्माण तथा ऐतिहासिक तथ्यहरूको खोज–अनुसन्धानसमेत सुरु गरिएको वडाध्यक्ष मसविर रोकाले जानकारी दिए।