Breaking Nepal

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक पर्यटन परियोजनाको शुभारम्भले नेपाल–चीनबीचको पर्यटन सहकार्य र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ‘चीन–नेपाल अन्वेषण यात्रा’ अन्तर्गत सुरु गरिएको अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक पर्यटन परियोजना दुवै देशबीच पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण पहल भएको बताए।
कार्यक्रममा हुवाङ लेईले उक्त परियोजनामार्फत मासिक करिब ६ हजार तथा वार्षिक ७२ हजारदेखि १ लाख २० हजारसम्म चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको जानकारी दिए।
उनले चिनियाँ पर्यटकको संख्या बढेमा होटल, यातायात, कृषि, हस्तकला तथा अन्य पर्यटनसँग सम्बन्धित क्षेत्रमा रोजगारी सिर्जना हुने उल्लेख गर्दै पर्यटनलाई केवल व्यवसाय नभई राष्ट्र निर्माणको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सकिने बताए।
हुवाङले चिनियाँ पर्यटकलाई लक्षित गर्दै काठमाडौं, नगरकोट, चितवन र पोखरालाई समेटेर सातदिने विशेष पर्यटन प्याकेज सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिए ।
कार्यक्रममा नेपाल पाण्डा इन्टरनेशनल ट्राभल एजेन्सीका शैलेन्द्र ढुंगेल तथा हिमालयन एयरलाइन्सका अध्यक्ष झाउ एनयोङले मौसमी प्रभावका कारण पर्यटक आगमनमा उतारचढाव आउने भएकाले चारै ऋतुमा विदेशी पर्यटक भित्र्याउने रणनीतिअनुसार पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।