Breaking Nepal

काठमाडौँ– फिफा विश्वकप २०२६ अन्तर्गत आज राति हुने राउन्ड अफ ३२ को बहुप्रतीक्षित खेलमा एसियाली पावरहाउस जापानले पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल राति १०:४५ बजे सुरु हुनेछ।
जापान बलियो प्रतिद्वन्द्वी ब्राजिललाई पराजित गर्दै राउन्ड अफ १६ मा स्थान बनाउन लक्ष्यसहित मैदान उत्रँदै छ। जारी विश्वकपमा एसियाबाट नकआउट चरणमा पुगेका सीमित टोलीमध्ये जापान एक भएकाले महादेशको प्रतिष्ठा जोगाउने चुनौती पनि उसकै काँधमा रहेको छ।
ब्राजिलले समूह ‘सी’ मा मोरक्कोसँग १–१ को बराबरी खेलेपछि हाइटी र स्कटल्यान्डलाई समान ३–० ले हराउँदै समूह विजेताका रूपमा नकआउट यात्रा तय गरेको थियो। टोलीका स्टार फरवार्ड भिनिसियस जुनियर समूह चरणमै चार गोल गर्दै उत्कृष्ट लयमा छन्।
यता जापानले समूह ‘एफ’ मा नेदरल्यान्ड्ससँग २–२ को बराबरी, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित र स्विडेनसँग १–१ को बराबरी खेल्दै समूह उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाएको हो। तीव्र गति, अनुशासित रक्षापङ्क्ति र प्रभावकारी काउन्टर-अट्याक जापानको मुख्य बल मानिएको छ।
विश्वकप इतिहासमा यी दुई टोली यसअघि सन् २००६ को जर्मनी विश्वकपमा मात्र आमनेसामने भएका थिए। त्यसबेला जापानले सुरुआती अग्रता लिए पनि ब्राजिलले ४–१ को प्रभावशाली जित निकालेको थियो।
विगतको इतिहास, वर्तमान लय र नकआउट चरणको दबाबका कारण आजको जापान–ब्राजिल भिडन्त प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।