बाँझो जमिनको सदुपयोग गर्दै कृषि आत्मनिर्भरतामा अघि बढ्नुपर्छ’ : मुख्यमन्त्री हिक्मतकुमार कार्की

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ ११:२६

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गर्दै देशलाई आत्मनिर्भरताको दिशामा अघि बढाउनुपर्ने बताएका छन्।

२३औँ राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले धान रोपाइँ, असारे भाका तथा दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गरेका छन्।

उनले पछिल्लो समय युवा जनशक्तिको वैदेशिक पलायन र बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएको र त्यसले कृषि उत्पादनमा गम्भीर असर परेको बताए।

मुख्यमन्त्री कार्कीले आधुनिक प्रविधि, कृषि यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै कोशी प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए।